काठमाडौ,२७ बैशाख ।
भारतीय सेनाले पाकिस्तानले भारतविरुद्धको आक्रमणमा उच्च गति (हाई स्पिड) को मिसाइल प्रहार गरेको दाबी गरेको छ ।

जारी अवस्थाबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा भारतीय कर्नेल सोफिया कुरैशीले पाकिस्तानले पन्जाबको सैन्य अड्डामा उच्च गतिको मिसाइल हानेको तर त्यसलाई भारतले निष्क्रिय पारेको दाबी गरेकी हुन् ।

उनले भनिन्,‘शनिबार बिहान १.४० बजे पन्जाबको सैन्य अड्डामा उच्च गतिको मिसाइल प्रहार गरिएको थियो। तर भारतले निष्क्रिय पारेको छ ।’

उनले पाकिस्तानी सेनाले पश्चिमी मोर्चाभरि आक्रामक गतिविधि जारी राखेको पनि बताएकी छन् ।

उनले भनिन्, ‘नियन्त्रण रेखामा ड्रोन घुसपैठ र भारी हतियारबाट गोलीबारी भएको छ । श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई घुसपैठको प्रयास गरिएको थियो, जसमध्ये धेरैजसोलाई विफल पारिएको छ ।’

कर्नेल कुरैशीका अनुसार पाकिस्तानले उधमपुर, भुज, पठानकोट, भटिंडा र आदमपुर सैन्य एयरबेसमा रहेका उपकरण र कर्मचारीहरूलाई क्षति पुर्‍याएको छ ।

पत्रकार सम्मेलनमा भारतका विदेश सचिव विक्रम मिश्रीले भने, ‘पाकिस्तानका गतिविधि निरन्तर उत्तेजक छन् । प्रतिक्रियामा भारतले यी उत्तेजक कार्यरूको जवाफ दिएको छ ।’

भारतको यो भनाइमा पाकिस्तानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

यसबीच पाकिस्तानले भारतविरुद्ध ४ सय किलोमिटरसम्म प्रहार गर्ने क्षमताको फतेह मिसाइल तैनाथ गरेको समाचार पनि आएको छ ।