काठमाडौं,२७ बैशाख ।
आईसीसी महिला टी–२० विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बहराइनलाई हराएको छ । तेरथाइ क्रिकेट मैदानमा भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको हो ।
वर्षाले प्रभावित भएपछि ५ ओभरमा छोट्याइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि कविता कुँवरले सर्वाधिक १८ रन बनाइन् । सम्झना खड्का १३ तथा कप्तान इन्दु बर्मा ७ रनमा अविजित रहे ।
टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाएको थियो। कप्तान दिपिका रंगासिकाले १३ बलमा सर्वाधिक ३४ रन बनाइन् ।
यसअघि शुक्रबार हङकङसँगको पहिलो खेल भिजेको मैदान नसुकेका कारण टस नै नभई रद्द भएको थियो । जसकारण नेपाल र हङकङले १–१ अंक बाँडेका थिए ।
अब नेपालले तेस्रो खेल मंगलबार हङकङसँग खेल्ने छ ।








