श्रवण दृष्टिविहीन शिक्षककाे लागि शिक्षण सिकाई क्रियाकलापमा सहयोगी वेबसाईट सार्वजनिक
बुटवल,२५ बैशाख ।
श्रवण दृष्टिविहीन शिक्षकहरूका लागि आजदेखि रुपन्देहीमा प्रविधिमा आधारित शिक्षण सिकाई सम्बन्धि पाँच दिने तालिम
सुरु भएको छ ।
नेपाल सरकार पाठ्यक्रम विकास तथा स्राेत विकास केन्द्र र राष्ट्रिय बहिरा महासंघकाे आयाेजनामा भएको तालिममा लुम्बिनी प्रदेशसहित गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका श्राेत शिक्षकहरूकाे सहभागीता रहेको छ ।
कार्यक्रममा शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका समावेशी शिक्षा शाखा निर्देशक सविता दंगालले प्रविधिमा आधारित क्षमता विकास कार्यक्रम आयोजना गरिएको जानकारी दिईन् । शिक्षण सिकाई क्रियाकपलाईलाई प्रविधियुक्त बनाउनको लागि तालिम आयोजना गरिएको उनले बताईन् । तालिममा ३ वटा प्रदेश लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका २५ जना शिक्षकहरुको सहभागीता रहेको जानकारी गराउँदै जसबाट बाहिरोपना भएका व्याक्तिहरुको लागि प्रभावकारी हुने समेत उनले बताईन् । ५ दिनसम्म सञ्चालन हुने तालिममा बाबुराम ढुंगाना, देविप्रसाद दाहाल लगायतले सहजीकरण गर्ने मानव स्रोत केन्द्रका शाखा अधिकृत दीपक माझीले बताए ।
त्यस्तै कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख माधव बन्जाडेले विद्यार्थीहरुको लागि के कसरी सिकाउने भन्ने विषयमा सिकाई उपलब्धी हुने विश्वास ब्यक्त गरे । प्रविधिको विकाससँगै हरेक प्रकारका अपांगता भएका व्यक्तीहरुलाई सहज हुने गरी प्रविधिको विकास भइरहेकाले त्यसलाई सिक्न जरुरी रहेको उनले बताए । उनले सिकाई उपलब्धीको लागि शिक्षकहरुको मिहिनेत जरुरी रहेको बताए । उनले अपांगता भएका व्याक्तिहरुको लागि सबैभन्दा बढि महत्वपूर्ण प्राविधिक सिप र शिक्षा आवश्यक भएको भन्दै यसको लागि सबैले सहकार्य गर्नुपर्ने बताए ।
५ दिनसम्म चल्ने प्रविधिमा आधारित शिक्षण सिकाई तथा क्षमता विकास तालिममा प्रविधिमा आधारित रहेर विद्यार्थीलाई परिस्कृत रूपमा कसरी पढाउन सकिन्छ भन्नेबारे सिकाइने जनाइएको छ । त्यसका लागि दुई जना दोभासे राखी तालिम दिन थालिएको बहिरा महासंघले जनाएको छ ।
साेही अवसरमा श्रवण दृष्टिविहीन शिक्षकहरूका लागि शिक्षण सिकाई क्रियाकलापमा विश्वस्तरकाे स्राेत सामग्रीसहितकाे वेबसाईट सार्वजनिक गरिएकाे छ ।
राष्ट्रिय बहिरा महासंघले सेन्स ईन्टरनेशनलको सहयोगमा विश्वव्यापी श्रवणदृष्टिविहिनता सोत केन्द्रको वेभ पोर्टल सार्वजनिक गरेको हो ।
वेभ पोर्टलको शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका समावेशी शिक्षा शाखा निर्देशक सविता दंगाल, शिक्षा विकास तथा संमन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडे लगायतले वेभ पोर्टल हवको शुभारम्भ गरेका हुन् । स्थानीय तहमा पहिलो पटक रुपन्देहीबाट शुभारम्भ गरिएको उक्त वेभ पोर्टल डेफ्टथ्ब्लाईण्डनेस डट ईन्फोमा गएर नेपाली भाषा चयन गरि हेर्न सकिने जनाइएको छ ।
श्रवणदृष्टि विहीनता सम्बन्धि ग्लोबल रिसोर्स हब एक अनलाइन प्लेटफर्म हो जहाँ श्रवणदृष्टि विहीनता भएका व्यक्ति र उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरूलाई पहुँचयुक्त सुचना, तथा स्रोत सामग्रीहरु उपलब्ध छन् । हबले श्रवणदृष्टि विहीनता भएका व्यक्ति र उनीहरुलाई सहयोग गर्ने बृहत सञ्जाललाई आवश्यक सुचनाहरुमा पहुँच उपलब्ध गराउने र सेवा सुविधा प्राप्तका लागि मार्गदर्शन गर्न ‘एकीकृत केन्द्र’ को रूपमा सेवा प्रदान गर्ने राष्ट्यि बहिरा महासंघका परियोजना संयोजक शंकर सिंह चैसरले जानकारी दिए । उनका अनुसार नेपाली भाषा सहित अन्य ७ वटा भाषमा श्रवणदृष्टिविहनता भएका व्याक्तिरुहको लागि चाहिने सम्पूर्ण विवरणहरु त्यहाँ राखिएको छ ।







