काठमाडौ,२५ बैशाख ।
भारतीय सेनाले पाकिस्तानको लाहोर सहरको वाल्टन रोड क्षेत्रमा जासुसी ड्रोन आक्रमण गरेको छ । उक्त घटनापछि त्यस क्षेत्रमा श्रृंखलाबद्ध विस्फोटहरू भएकाे पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार भारतीय ड्रोन वाल्टन विमानस्थल नजिकै खसालिएको थियाे ।

विस्फोटका आवाजहरू गोपाल नगर र नसीराबाद क्षेत्रसम्म सुनिएका थिए । विस्फोटपछि स्थानीय बासिन्दाहरू आत्तिएर घर बाहिर निस्किएका थिए भने आकाशमा धुवाँको मुस्लो देखिएको थियो । प्रहरी र उद्धार टोलीहरू घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको समाचारमा जनाइएको छ ।

घटनाबाट भएको क्षति बारे हालसम्म कुनै बिवरण प्राप्त भएको छैन ।
मंगलबार राति भारतले ‘अपरेसन सिन्दूर’ अन्तर्गत पाकिस्तानका ९ स्थानमा हवाई आक्रमण गरेको थियो । भारतले ती स्थानहरूमा आतंकवादीहरू लुकेको दाबी गरे पनि पाकिस्तानले सामान्य बासिन्दा प्रभावित भएको बताएको छ ।

पाकिस्तानी सैन्य प्रवक्ता अहमद सरिफ चौधरीका अनुसार ती हमलामा २६ नागरिक मारिएका थिए भने ४६ जना घाइते भएका छन् । जवाफस्वरूप पाकिस्तानले बुधबार बिहान कश्मीर क्षेत्रमा गोलाबारी गरेको र आक्रमणमा भारतका १५ नागरिकको मृत्यु भएको तथा ४३ जना घाइते भएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।