काठमाडौं,२४ बैशाख ।
भारतले पाकिस्तान प्रशासित कश्मीरमा आक्रमण गरेपछि त्यसको प्रतिकार गर्न पाकिस्तान सरकारले सेनालाई अनुमति दिएको छ ।
भारतकाे हवाई हमलापछि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको कार्यालयले देशको सशस्त्र बललाई प्रतिकारात्मक कारबाही गर्न अधिकार प्रदान गरेको रोयटर्सलाई उद्धृत गर्दै द गार्जियन न्युजले जनाएको छ ।
गएराति भारतले पाकिस्तानी कश्मीर र अन्य क्षेत्रमा हवाई आक्रमण गरेको थियो । यसलाई परमाणु शक्तिसम्पन्न दुई देशबीच दशकौँदेखि चल्दै आएको तनावअन्तर्गत सबैभन्दा ठूलो सैन्य टकराव भएको बताइएको छ ।
भारतले गरेको आक्रमणका क्रममा पाँच भारतीय जहाज खसालेकाे पाकिस्तानले दाबी गरेको छ । भारतीय रक्षा मन्त्रालयका अधिकारीले भने यो दाबी पुष्टि गरेका छैनन् ।
पाकिस्तान स्थित आतंकवादीको संरचना भएका नौ स्थानमा प्रहार गरेको भारतले दाबी गरेको छ । नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय सैन्य प्रवक्ताले यसलाई मुस्लिम आतंकवादी समूह जैश–ए–मोहम्मद र लश्कर–ए–तोइबाविरुद्धको कारबाही भनेका छन् ।
पाकिस्तानी सेनाका प्रवक्ताले कम्तीमा २६ नागरिकको मृत्यु र ४६ घाइते भएको बताएका छन् । भारतको आक्रमणपछि पाकिस्तानले गरेको प्रतिकारमा कम्तीमा सात नागरिकको मृत्यु र ३० घाइते भएको बताइएको छ ।
कश्मीरमा आतंकवादीहरूले २६ पर्यटकलाई मारेको घटनाको केही हप्तापछि भारतको यो आक्रमण भएको हो ।








