दाङ,२१ बैशाख ।
दाङको तुलसीपुर उपमहानगरपालिका-६ रजौरास्थित हिमाल एकेडेमी स्कुलका शिक्षकमाथि खुँडा प्रहार गरेको आराेपमा एक विद्यार्थी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौर बस्ने २१ वर्षीय सुरेश विक रहेका छन् ।
विकले शुक्रबार बिहान स्कुल प्रांगणमै हिमाल एकेडेमी स्कुलका कक्षा १२ का संयोजक शिक्षक ३७ वर्षीय विशेष श्रेष्ठलाई ज्यान मार्ने उद्देश्यले धारिलो हतियार खुँडाले घाँटी, हात लगायत शरीरको विभिन्न भागमा प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले जानकारी दिए ।
उनलाई शनिबार राति तुलसीपुर उपमहानगरपालिका-४ हलवारस्थित सडकबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक ठकुरीले बताए ।
विक हिमाल एकेडेमी स्कुलकाे १२ कक्षामा अध्ययनरत विद्यार्थी हुन् ।






