भैरहवा,१९ वैशाख ।
जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएका कारण असन्तुष्टि बढेको बताएका छन् । मुलुकमा निरकुंशता हटेर संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि शासक पुरानै रहेकाले जनताको अवस्था नबदलिएकाे बताए ।

शुक्रबार भैरहवामा आयोजित जसपा नेपाल रुपन्देही एकताको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष यादवले नयाँ व्यवस्थामा पुरानै शासक भएकाले जनताको अवस्था नबदलिएकाे दाबी गरे । ‘हिजोको शासक आज पनि शासक छन्’उनले भने–‘व्यवस्था बदलेर मात्र हुँदैन, शासन–सत्ता पनि बदल्नुपर्छ ।’

जनसंख्याको आधारमा राज्यमा प्रतिनिधित्व हुनुपर्ने भन्दै उनले दलित समुदाय र महिलाको नाम मात्रको प्रतिनिधित्व भएको बताए । दलित र महिलाको सत्ता र शक्तिमा निर्णायक भूमिका नरहेको बताउदै अध्यक्ष यादवले अहिलेको संविधान शोषित–उत्पीडित जनताको विपक्षमा रहेको धारणा राखे ।

मधेशमा राज्यको न्यून बजेट भएको भन्दै उनले विकास दक्षिणबाट सुरु गरी उत्तर पुग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टीका महासचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज रामकुमार शर्माले प्रदेश सरकारलाई कमजोर बनाइएको भन्दै बर्तमान सरकार संघीयताप्रति इमान्दार नभएको बताए । उनले संविधान संशोधन र पुर्नलेखन नभए आन्दोलनको विकल्प नभएको चेतावनी दिए ।