कक्षा १२ को परीक्षामा कालो पट्टी बाँधेर काम गर्ने
काठमाडौं,१९ बैशाख ।
सरकार र नेपाल शिक्षक महासंघविच भएको सहमतिको बिराेधमा विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको घोषणा गरेको छ ।
कर्मचारीका मुद्दा सम्बोधन नगरी शिक्षक महासंघले आफ्ना माग मात्रै सुनिश्चित गरेको भन्दै परिषद्ले आन्दोलनको घोषणा गरेको हो ।
आन्दोलन वैशाख २१ देखि सञ्चालन हुने परिषद्ले जनाएको छ । कक्षा १२ को परीक्षमा कालोपट्टी बाँधेर काम गर्ने परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए ।
विद्यालय कर्मचारी, राहत, बाल विकासलगायत कोटाका कर्मचारी शिक्षकलाई अलपत्र पारेको आरोप परिषद्को छ ।
परिषद्का महासचिव शान्तिनाथ योगीले परिषद्ले महासङ्घको नेतृत्वले विद्यालय कर्मचारीलाई बिना सूचना सडकमै छाडिदिएको भन्दै आपत्ति जनाए ।
निजामती सरहको ग्रेड मिलान, स्थायी र सबै प्रकारका शिक्षकहरूका लागि दुर्गम भत्ता प्राप्त गर्ने, मर्यादाक्रममा शिक्षकलाई राख्ने, निमावि प्रथम श्रेणीका शिक्षकको तलब ग्रेड मावि द्वितीय श्रेणीको शिक्षक सरह हुने लगायतका सेवा सुविधाजन्य गतिविधिमा समस्या रहेको परिषद्ले जनाएको छ ।
विद्यालय कर्मचारी परिषद्ले शिक्षक कर्मचारीबीचको विभेद अन्त्य गर्नुपर्ने, हालसम्मका सहमतिहरू कार्यान्वयन गर्नुपर्ने, विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित गराउनुपर्ने, तलबमान कायम गराउनुपर्ने, विद्यालय कर्मचारीलाई पनि दुर्गम भत्ता उपलब्ध गराउनुपर्ने, तोकिएको समयमै शिक्षा ऐन जारी गराउनुपर्ने र सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने माग राखेको छ ।
विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले शिक्षक महासङ्घले विद्यालय कर्मचारीको सेवा सुविधालाई बेवास्ता गरेर आफ्ना ग्रेड समायोजन र दुर्गम भत्ताको कुरा ल्याएको बताए । उनले सरकार र महासङ्घबीच भएको एकलौटी सहमतिलाई कदापि स्वीकार नगर्ने चेतावनी दिए ।
उनले विगतका दिनमा २९ दिन माइतीघरमा बसेर सरकारसँग सहमति गरेको स्मरण गर्दै सरकार र महासङ्घलाई विद्यालय कर्मचारीको तागत देखाइसकेको बताए ।
परिषद्ले आन्दोलनको लागि बब्बन मिश्राको संयोजकत्वमा १५ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको छ ।
यस्तै वैशाख २१ गतेदेखि जेठ तीन गतेसम्म कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने, जेठ ४ गते ७ सय ५३ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाएर आन्दोलनको बारेमा जानकारी गराउने, जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने उने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
त्यस्तै, जेठ ६ गते ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईमा आन्दोलनको जानकारीसहित ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।
त्यस्तै जेठ ७ गते ७ वटै प्रदेशमा आन्दोलनको जानकारी गराउने र ध्यानाकर्षण सहित सामाजिक विकास मन्त्रालयमा पत्र बुझाउने र जेठ १० गतेदेखि काठमाडौंस्थित माईतीघर मण्डलामा सडक आन्दोलन शुरु गर्ने विद्यालय कर्मचारी परिषद्ले जनाएको छ ।
शिक्षक महासंघको आन्दोलन समापन कार्यक्रममा बिहीबार दुई पक्षबीच चर्काचर्की भएको थियो ।






