बुटवल,१३ बैशाख ।
रूपन्देहीको रोहिणी गाउँपालिकाले आइतबारदेखि अनिवार्य विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । आइतबारदेखि विद्यालय सञ्चालन नभए शिक्षक र कर्मचारीलाई कारबाही गर्ने पालिकाले चेतावनी दिएको छ ।
पालिकाले एक सूचना जारी गरी पालिकाभित्रका सबै सरकारी विद्यालयका शिक्षक र कर्मचारीलाई २०८२ वैशाख १४ गतेदेखि विद्यालयमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको हो ।
भाेली १४ गतेदेखि शिक्षकलाई अनिवार्य रुपमा उपस्थिति भई नतिजा प्रकाशन, विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण लगायत कार्यसहित नियमित रुपमा पठनपाठन अगाडि बढाउन निर्देशित गरिएको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले जानकारी दिए । ‘निर्देशनको अवज्ञा गर्ने शिक्षक, कर्मचारीलाई क्षेत्राधिकारभित्र रहेर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने छौं,’ उनले भने, ‘बालबालिकाको भविष्य र अभिभावकको अनुरोधलाई बेवास्ता गर्न सक्ने अवस्था छैन ।’ आइतबार शिक्षक र कर्मचारी विद्यालयमा उपस्थित नभए अर्को कदम चालिने उनकाे चेतावनी छ ।
गत चैत २० गतेदेखि शिक्षक, कर्मचारी निरन्तर आन्दोलनमा छन् । लामो समयको आन्दोलनका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक भविष्यमा प्रत्यक्ष प्रतिकूल प्रभाव परिरहेको भन्दै पालिकाले भाेली आइतबारदेखि अनिवार्य रूपमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।






