काठमाडौँ,१३ बैशाख ।
सरकार र आन्दोलनरत शिक्षक महासंघबिचकाे वार्ता बिना निस्कर्ष टुंगिएको छ । रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त भएपछिको यो पहिलो वार्ता हो ।

सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शनिबार बिहानैदेखि भएको वार्ता बिना निस्कर्ष टुंगिएको शिक्षक नेताहरूले बताएका छन् ।

वार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल शिक्षक महास‌घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आज शिक्षकहरूको माग र आन्दोलन बारे शिक्षामन्त्रीलाई जानकारी गराउने काम भएको प्रतिक्रिया दिए । यसबारे पुनः वार्ता र छलफल गर्ने सहमति भएको उनलेे बताए । उनलेे अर्को वार्ताको मिति भने तय नभएको बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आह्वान गरेसँगै शुक्रवार साँझ नै शिक्षकका केही प्रतिनिधिहरू सिंहदरबार पुगेका थिए । तर सरकारले बनाएको वार्ता टोलीप्रति असहमति जनाउँदै गेटबाटै बाहिरिएका थिए ।

आज भने शिक्षक महासंघका प्रतिनिधिहरू बिहानै मन्त्रालय पुगेका थिए । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै
गत चैत २५ गतेदेखि शिक्षकहरूले काठमाडौँ केन्द्रीत आन्दोलन गर्दै आएका छन् ।

सरकारले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन नरोक्ने शिक्षकहरूले चेतावनी समेत दिएका छन् ।