बुटवल,११ बैशाख ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सकारात्मक समाचार सम्प्रेषण गर्ने मात्रै नभएर अब आलोचनात्मक समाचार सम्प्रेषण गर्ने पत्रकारलाई पनि पुरस्कृत गर्ने परिपाटीको विकास गर्न जरुरी देखिएको बताएका छन् ।
सरकारी तथा गैरसरकारी निकायका कमि कमजोरी बारे प्रकाशित प्रसारित समाचारलाई सम्बन्धित निकायले सहजरूपमा नलिने गरेको भन्दै उनलेे आग्रह पुर्वाग्रह बिना कमि कमजोरी सच्याउने सुझावसहितको आलोचनात्मक समाचार सम्प्रेषण गर्ने पत्रकारलाई पनि पुरस्कृत गर्ने परिपाटीको विकास गर्न जरुरी रहेको बताए ।
नेपाल पत्रकार महासंघ रूपन्देहीद्वारा बिहीबार बुटवलमा आयोजित उत्कृष्ट पत्रकारिता पुरस्कार बितरण कार्यक्रममा नगर प्रमुख पाण्डेयले उक्त कुरा बताएका हुन् ।
कुनै किसिमको आग्रह पुर्वाग्रह बिना आउने आलोचनात्मक समाचारले कमि कमजोरी सच्याउन मद्दत गर्ने भन्दै उनलेे कमि कमजोरी सच्याउने सुझावसहितको आलोचनात्मक समाचारलाई सहजरूपमा लिनुपर्नेमा जाेड दिए ।
उनलेे सार्वजनिक सेवा प्रवाह गर्ने निकायबारे टिप्पणी गर्ने कार्यक्रम बनाउने तर्फ पनि ध्यान दिनुपर्ने उल्लेख गरे ।
बुटवल उपमहानगरपालिकाकाे सहयोगमा स्थापित १ लाख राशिको उत्कृष्ट पत्रकारीता पुरस्कार राताेपाटी अनलाइनमा कार्यरत पत्रकार तेजेन्द्र केसीले प्राप्त गरे भने सुर्य प्रसाद प्रधान स्मृति विकास पत्रकारीता पुरस्कार २०८१ पुरूषतर्फ
नेपाल प्रेस अनलाइनमा कार्यरत रामप्रसाद आचार्य र महिला तर्फ कान्तिपुर टेलिभिजनमा कार्यरत अमृता अनमाेलले प्राप्त गरेका छन् ।
उक्त पुरस्कारको राशि जनही ५० / ५० हजार रूपया रहेको छ ।






