बुटवल,११ वैशाख ।
भारतको जम्मुकश्मिर स्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको नवलपरासीको त्रिवेणी घाटमा अन्त्येष्टि गरिएको छ । मंगलबार मारिएका सुदीपको आज रुपन्देहीको बुटवस्थित घर ल्याएर त्रिवेणी घाटमा अन्त्येष्टि गरिएको हो ।

सुदीपलाई काका कपिलदेव न्यौपाने (कृष्ण)ले दागबत्ती दिएका छन् । बुबा ध्रुव र आमाबीच सम्बन्ध बिच्छेद भएकाले बुबाको साटो काकाले सुदीपलाई दागबत्ती दिएको छिमेकी थानेश्वर पौडेलले जाकारी दिए ।

बुटवल–११ कालिकानगरको मनकामना पथ घर भएका सुदीपको शव श्रीनगरबाट दिल्ली हुँदै लखनउसम्म हवाई मार्गबाट ल्याइएको थियो । त्यहाँबाट एम्बुलेन्समार्फत् नेपाल–भारतको सीमा सुनौली हुँदै आज बिहान मात्रै बुटवल ल्याइएको हो ।

आमाबुबाको सम्बन्ध बिच्छेद भएपछि सुदीप बुटवल–११ कालीकानगरमा आमा र बहिनीसँग बस्दै आएका थिए । त्यसअघि उनीहरूको घर बुटवल–१४ बेलभरियामा थियो । सुदीपको पुर्ख्यौली घर भने पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ४ हो ।

पहिले ‘हेल्थ एसिस्टेन्ट’ पढेका सुदीपले त्यसपछि पब्लिक हेल्थ पढ्दै आएका थिए । उनी सामाजिक कार्यमा पनि सक्रिय रहेको स्थानीयकाे भनाइ छ ।

शिक्षण पेशामा आवद्ध बुबा ध्रुव न्यौपाने शिक्षक आन्दोलनका क्रममा काठमाडौंमा थिए । मंगलबार घर फर्किने क्रममा उनले छोराको अप्रिय खबर सुनेका थिए ।

आमा, बहिनी र ज्वाइँसँग कश्मिर घुम्न गएका सुदीप मंगलबार दिउँसो आंकवादी हमलामा परेका थिए । आमा, बहिनी र ज्वाइँ भने जोगिन सफल भएका थिए ।