काठमाडौ,११ बैशाख ।
जम्मु कास्मीरमा पर्यटकमाथि भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सिन्धु जल सम्झौता खारेज गर्ने, पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन दिने लगायतका पाँच महत्वपूर्ण निर्णयहरू गरेको हो ।
भारतले पाकिस्तानी आतङ्ककारी समूह लश्कर-ए-तोयबाको प्रोक्सी संगठन ‘द रजिस्टेन्स फ्रन्ट’लाई पहलगाम आक्रमणमा संलग्न ठहर गर्दै त्यसको प्रतिक्रियामा कडा नीति लिएको हो ।
पर्यटकीय क्षेत्र पहलगाममा मंगलबार दिउँसो भएको आतंकवादी आक्रमणमा नेपाली नागरिक सुदीप न्यौपानेसहित २७ जनाको मृत्यु भएको थियो । घटनामा २० जनाभन्दा बढी घाइते भएका थिए । भारतको गुप्तचर निकायले आतंकवादीको रूपमा आसिफ फौजी, सुलेमान शाह र अबु तल्हाको स्केच सार्वजनिक गरेको छ ।
भारतको राष्ट्रिय अनुसन्धान एजेन्सीको टोली घटनास्थलमा पुगेको छ । घटनामा संलग्न भएको आशङ्कामा दर्जनौं व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जनाइएको छ । पहलगाम आक्रमणपछि आज जम्मु कश्मीर बन्द गरिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणको निन्दा गर्दै दोषीमाथि कडा कारबाही हुने बताएका छन् । नेपाल सरकारले पनि आतंकवादविरुद्ध भारतलाई साथ दिने प्रतिबद्धता जनाएको छ ।
यी हुन मन्त्रिपरिषद्का पाँच निर्णय :
१. भारत–पाकिस्तानबीच सन् १९६० मा भएको सिन्धु जल सम्झौता खारेज
२. अटारी सीमानाका बन्द गर्दै भारतमा रहेका पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र देश छाड्न निर्देशन
३. पाकिस्तानी नागरिकलाई दिइएका भिसा रद्द
४. दिल्लीस्थित पाकिस्तान हाई कमिसनमा कार्यरत डिफेन्स एडभाइजरलाई एक हप्ताभित्र देश छाड्न निर्देशन
५. पाकिस्तान हाई कमिसनको कर्मचारी संख्या ५५ बाट घटाएर ३० कायम
पाकिस्तान संरक्षित आतंकवादी समूहले पर्यटकहरूलाई लक्षित गरी आक्रमण गरेको भारतको आरोप छ। तर पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले घटनासँग पाकिस्तानको संलग्नता नरहेको बताएका छन्।
के छ सिन्धु जल सम्झौतामा ?
सन् १९६० सेप्टेम्बर १९ मा विश्व बैंकको मध्यस्थतामा भारत र पाकिस्तानबीच सिन्धु जल सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार पाकिस्तानले सिन्धु नदी प्रणालीको करिब ८० प्रतिशत पानी प्रयोग गर्दै आएको छ। सम्झौता खारेज भएपछि भारतले पानी आपूर्ति रोक्न, नदी मोड्न वा बाँध बनाउन सक्नेछ, जसले पाकिस्तानको कृषि, उद्योग र पिउने पानीमा प्रत्यक्ष असर पुर्याउनेछ ।








