बुटवल,१० बैशाख ।
भारतको जम्मु काश्मिरमा आतंकवादी हमलामा मारिने नेपाली बुटवलका भएको खुलेको छ ।

हिजो भएको आतंकवादी हमलामा २६ जना पर्यटकको मृत्यु हुदाँ एकजना नेपाली सुदिप न्यौपाने पनि भएको खुलेको हो । परराष्ट्र मन्त्री आरजु राणाले काश्मिरको पाहलगममा हिजो भएको आतङ्ककारी हमलामा परी नेपाली नागरिक वुटवल–११, कालिकानगर रुपन्देहीका सुदिप न्यौपानेको निधन भएको जानकारी दिएकी हुन् ।

सुदिप न्यौपानेको निधन भएको खबरले निकै मर्माहत भएकाे उल्लेख गर्दै उनलेे मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेकी छन् । यस्तो क्रुर र अमानवीय कार्यको जति निन्दा गरे पनि नपुग्ने भन्दै उनले नेपाल सरकार यो घटनाको निन्दा एवं भत्र्सना गर्दछ र यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको साथमा रहेको जनाएकी छन् ।

सुदीपको शव बुधबार नेपाल ल्याउने तयारी गरिएको बताइएकाे छ । शवलाई कश्मीरबाट दिल्ली र दिल्लीबाट काठमाडौं ल्याउने तयारी गरिएको छ ।