नवलपरासी,१० बैशाख ।
क्रान्तिकारी संयुक्त मोर्चा नेपाल नवलपरासीको प्रथम जिल्ला भेलाले चुडामणि भण्डारीको संयोजकत्वमा १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
मंगलवार बर्दघाटस्थित दिब्यनगरमा मोर्चाको भेलाले भण्डारीको संयोजकत्वमा १७ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।
लेनिन जयन्ती एवं कम्युनिस्ट पार्टी स्थापना दिवस तथा
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीको आयोजनामा भएको कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य एवं युवा नेता रवि पाण्डेयकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा युवा नेता पाण्डेयले क्रान्तिकारी संयुक्त मोर्चा क्रान्तिको एक साधन रहेको उल्लेख गर्दै नेपालमा नयाँ जनवादी क्रान्ति हुँदै बैज्ञानिक समाजवादमा जाने पार्टीको लक्ष्य रहेको बताए ।
नेपालमा कम्युनिस्ट आन्दोलनको प्रमुख समस्या दक्षिणपन्थी संसोधनवाद रहेको चर्चा गर्दै उनलेे इतिहासको सही मूल्याकंन गर्न जरुरी रहेको बताए ।
कार्यक्रमममा जेष्ठ कम्युनिस्ट नेता प्रेम रिमालले कम्युनिस्ट आन्दोलनको अनुभव सुनाउदै निरन्तर क्रान्तिको पक्षमा लाग्न नेता कार्यकर्तालाई आव्हान गरे ।
भेलामा नवनिर्वाचित संयोजक भण्डारीले मोर्चालाई जिल्लाभर विस्तार गर्दै जनताको बीचमा लैजाने प्रतिबद्वता ब्यक्त गरे ।
मोर्चाको जिल्ला सदस्यमा मेख नारायण चौधरी ( थारु मोर्चा) मुक्त माया महतो ( महिला सङ्गठन ), सोम बहादुर विश्वकर्मा ( दलित मोर्चा), रमेश पाण्डे ( विद्यार्थी सङ्गठन), लालु गिरी ( मजदुर सङ्गठन ) प्रेम पोखरेल ( उद्योग व्यापार महासङ्ग), चन्द्रमान मानन्धर ( नेवा मोर्चा) टीका परियार ( मिटर ब्याज पिडित किसान), प्रल्हाद हरिजन ( उत्पिडित क्षेत्र सुस्ता गापा) र महेन्द्र राजभर ( मधेसी मोर्चा ) रहेका छन् ।
रिक्त रहेका ७ सिटमा मुस्लिम अल्पसंख्यक सहित बिभिन्न क्षेत्रबाट प्रतिनिधित्व गराउने समेत संयोजक भन्डारीले जानकारी गराए ।
जिल्लाको सात मध्ये पाँच पालिकाबाट प्रतिनिधित्व रहेको मोर्चामा बिभिन्न वर्ग,जाती, क्षेत्र र लिङ्गको प्रतिनिधित्व हुने गरेर गठन गरिएको जनाइएको छ ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला कार्यालय सदस्यद्वय गणेश बहादुर ढकाल र दुर्गा नारायण चौधरीलगायतले आ आफ्नो भनाइ राखेका थिए ।
क्रान्तिकारी संयुक्त मोर्चा नेपालले सदस्यता विस्तार तथा पालिका कमिटीको भेलासमेत आयोजना गर्दै जाने बताइएको छ ।






