काठमाडौं,६ वैशाख ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका
शिक्षकहरूले १८ औं दिन आज पनि प्रदर्शन जारी राखेका छन् ।
विगत १८ दिनदेखि काठमाडौंको माइतीघर–बबरमहल–नयाँ बानेश्वर सडकमा प्रदर्शन गर्दै आएका शिक्षकहरूले शनिबार पनि आन्दोलनलाई निरन्तरता दिएका हुन् ।
शुक्रबार मध्यरातिसम्म प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग शिक्षक महासंघका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।
तत्कालै शिक्षा ऐन जारी हुनेमा आश्वस्त हुन नसकेका उनीहरूरूले आन्दोलनलाई आज पनि जारी राखेका हुन् ।
उनीहरुको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा बिहीबार पनि यातायात सेवा ठप्प छ ।
छलफलमा प्रधानमन्त्री ओलीले शिक्षा ऐन प्रक्रियामार्फत् जतिसक्दो छिटो जारी गर्ने प्रतिबद्धता दोहोर्याएका थिए ।
त्यसका लागि आज प्रधानमन्त्री ओलीले शिक्षा समितिका सांसद, शिक्षा मन्त्री र सत्तारूढ दलसँग छलफल गरेर टुंगो लगाउने आश्वासन दिएका थिए ।
आन्दोलन लम्बिदै जादा आन्दोलनमा शिक्षकहरूको सहभागीता पनि बढ्दो क्रममा रहेको छ ।
शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्रकाे विद्यार्थी भर्ना अभियान पनि अबरुद्ध भएको छ ।






