काठमाडौँ,४ बैशाख ।
नेपाल शिक्षक महासंघको आन्दोलन प्रति नेपाली कांग्रेस (बीपी ) ले ऐक्यबद्धता जनाएको छ ।

नेपाली कांग्रेस (बीपी ) का सभापति सुशिलमान शेरचनले एक प्रेस विज्ञप्ति प्रकाशित गरी शिक्षक महासंघको आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै शिक्षकहरूका जायज मागहरू पुरा गर्न सरकारसँग माग गरेको हो ।

पेशागत हक हितका साथै समग्र शैक्षिक विकासका लागि शिक्षकहरू लामो समयदेखि आन्दोलनमा रहे पनि सरकारी रबैया भने पुरातनपन्थ देखिएको भन्दै साे पार्टीले शिक्षकहरूका जायज माग पुरा गरी शैक्षिक वातावरण बनाउन सरकारकाे ध्यानाकर्षा गराएको छ ।

कुनै पनि मुलुककाे विकासको आधार शिक्षा भएको उल्लेख गर्दै विज्ञप्तिमा शिक्षा र शिक्षाका संवाहकप्रति सरकार गम्भीर र सचेत हुनुपर्नेमा जाेड दिइएको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरूको राजधानी काठमाडौं केन्द्रीत आन्दोलनकाे आज १६ औं दिन पनि प्रदर्शन जारी रहेको छ ।

शिक्षकहरूले उधारो सहमति नमान्ने भन्दै ऐन जारी भएपछि मात्रै विद्यालय फर्किने अडान लिएका छन् ।

आन्दोलनका कारण शैक्षिक सत्र २०८२ काे नयाँ भर्ना अभियान लगायत पठनपाठन कार्य अबरूद्व भएको छ ।