बुटवल,३ बैशाख । ‘
माओवादी केन्द्रकाे तराई–मधेश हुलाकी मार्ग जागरण अभियान’ टोली रूपन्देही आइपुगेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको जनतासँग माओवादी : अभियान टोली बुधबार रुपन्देही जिल्ला प्रवेश गरेको हो । जिल्लाको रोहिणी गाउँपालिका–४, धकधईमा प्रचण्ड सहितको टोलीलाई माओवादी नेता कार्यकर्ताले स्वागत गरे ।
नवलपरासी पश्चिमबाट रुपन्देही प्रवेश गरेको टोलीलाई फूलमाला, बाजागाजा र नाराजुलुससहित स्थानीय नेता, कार्यकर्ता र शुभेच्छुकहरूले स्वागत गरेका थिए ।
धकधईमा आयोजित कार्यक्रममा प्रचण्डले तराई–मधेशको समृद्धि र विकासमा जोड दिँदै हुलाकी मार्गजस्ता पूर्वाधार योजनाहरूले जनताको आशा फेरि जागेको बताए । “हाम्रो अभियान उपदेश होइन, जनताको वास्तविक पीडा र आशा बुझ्ने अभियान हो,” उनले भने। उनले स्थानीय आत्मनिर्भर अर्थतन्त्रमा आधारित विकास मोडलको पक्षमा उभिँएर समावेशी,सन्तुलित र दिगो विकासको लागि काम गर्नुपर्ने उनले बताए ।
अध्यक्ष प्रचण्ड नेतृत्वको टोली बिहीबार बिहान ५:३० देखि ८:३० बजेसम्म भैरहवाको मिलनचोकदेखि बुद्धचोकसम्म मर्निङ वाक र जनसंवाद, बिहान ९:०० पत्रकार सम्मेलन, १०:०० बजे होटल पौवामा युवा, विद्यार्थी र वाइसिएलका लागि प्रशिक्षण कार्यक्रम– बिहान ११:०० देखि १२:०० बजेसम्म बुद्धिजीवी, व्यवसायी र नागरिक समाजसँग अन्तरक्रिया, १२:०० बजे शहीद परिवारसँग भेटघाट र सामूहिक भोजन र दिउँसो २:०० बजे मर्चवार मझगावामा आमसभालाई सम्बोधन लगायतका कार्यक्रम रहेका छन् ।
दिउँसो ४:०० बजे अभियानको जिम्मा कपिलवस्तु जिल्ला समितिलाई हस्तान्तरण कार्यक्रम रहेको पार्टी जिल्ला संयोजक नारायण जिसी ‘निर्मल’ ले जानकारी दिए ।






