बुटवल,१ बैशाख ।
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टाेप अस्लामीले मुलुकको उन्नति प्रगति अनि बलियो राष्ट्रिय एकताको लागि अग्रगमनको बाटोमा अगाडि बढ्नु नै अहिलेकाे राष्ट्रिय कार्यदिशा हुनुपर्नेमा जाेड दिएका छन् ।

नयाँ बर्ष २०८२ सालको अवसरमा शुभकामना सन्देश जारी गर्दै महासचिव अस्लामीले २०८१ साल देश र जनताको लागि मंगलमय हुन नसके पनि २०८२ साल हाम्रो लागि उत्साह, ऊर्जा र जिम्मेवारीबोध सहित अग्रगमनतर्फ लम्कने बर्ष बन्नेछ भन्ने बिश्वास व्यक्त गरेका छन् ।

२०८१ साल शासकीय गतिविधि राष्ट्रिय आकांक्षा सम्बोधन गर्ने ढङ्गको नभएकाे भन्दै उनलेे फलतः प्रतिगमन नै समाधान हो कि भन्ने भ्रम समेत देखा परेकाे उल्लेख गरेका छन् ।

“परिवर्तनको चाहना, आवश्यक्ता र महत्व समाजका अभिछिन्न पक्ष हुन् । यस सन्दर्भमा अबका दिन र वर्षहरुलाई आशा र भरोसाको वर्ष बनाउनका लागि नेपाली समाजले अवश्य पनि गम्भीर शिक्षा प्राप्त गरेको छ भन्ने विश्वास पनि हामीलाई लागेको छ । लामो त्याग, संघर्ष अनि बलीदानबाट प्राप्त उपलब्धीलाई राष्ट्रिय आकांक्षा अनुरुप परिष्कृत गर्दै लैजाने तर्फ मुलुकलाई अग्रसर गर्न नचाहने वा नसक्नेहरुबाट राष्ट्रिय नेतृत्व हुन सक्दैन र हुने पनि छैन । यो यथार्थतालाई जति छिटो आत्मसाथ गर्न सक्यो त्यति नै छिटो देशले सम्भावित अप्ठेरोबाट मुक्ति पाउने छ । यसतर्फ सच्चा संघीय गणतान्त्रिक, अग्रगामी, लोकतान्त्रिक शक्तिहरु एवं सम्पूर्ण नेपाली जनको ध्यान, चासो र जिम्मेवारीबोध घनीभूत बनोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं ।”-सन्देशमा भनिएको छ ।

नयाँ बर्ष २०८२ को अवसरमा राष्ट्रिय जनमुक्ति पार्टीकाे तर्फबाट सुस्वास्थ्य,सम्वृद्धि,सुखशान्ति साथै निरन्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दै महासचिव अस्लामीले २०८२ साल हाम्रो लागि उत्साह,ऊर्जा र जिम्मेवारीबोध सहित अग्रगमनतर्फ लम्कने बर्ष बन्नेछ भन्ने बिश्वास व्यक्त गरेका छन् ।