बुटवल,२५ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने कारागार चलान भएका छन् ।

लामिछानेलाई रुपन्देहीकाे भैरहवा स्थित जिल्ला कारागार शाखा काे ४ नम्बर ब्लकमा एक्लै राखिएको छ ।

कारागारमा शाखा भैरहवामा ४ वटा ब्लक छन् । १ र २ नम्बर ब्लकमा अरु कैदी तथा थुनुवाहरू छन् । ३ नम्बर ब्लक भने महिला कैदी तथा थुनुवाका लागि हो । अहिले रविलाई राखिएको ब्लक भने ४ नम्बर हो । यो ब्लकमा १० जना कैदी राख्ने क्षमता भए पनि उनलाई एक्लै राखिएको छ ।

सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर,बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि साेही दिन राति प्रहरीले लाई काठमाडौं स्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो ।

उच्च अदालत तुलसीपुर,बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले शुक्रबार सो आदेश गरेका हुन् । यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा छाड्ने आदेश गरेको थियो । एक करोड धरौटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीकाे आदेश बदर गर्दै उच्च अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै लामिछाने पक्राउ परेका थिए ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।

शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई त्यसरात जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो । उनलाई चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत बिहान ९ः१२ बजे गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

सरकारी बिदाका कारण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार चलान गरिएको हो ।