बुटवल,२३ चैत ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ ।
शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आज बिहान भैरहवा ल्याइएको हो । लाछिानेलाई आज बिहान ९.१२ बजे यती एयरलाइन्सको विमानमार्फत भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रियज विमानस्थलमा ल्याइएकाे हो ।
अब उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ । विमानस्थलबाट उनलाई प्रहरी कार्यालयमा लगिएको छ । आज र भोलि सार्वजनिक बिदा परेकाले उनलाई सोमबार मात्र रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले शुक्रबार उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश दिएका हुन् । जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै शुक्रबार राति लामिछाने पक्राउ परेका हुन् ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।
शुक्रबार उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो ।
उच्च अदालतले लामिछानेलाई थुनामा राख्नका लागि दिएको आदेशमा जिल्ला अदालतले धरौटीमा छोड्दा दिइएका आधारलाई खण्डन गरेको छ ।
धरौटी वा थुनाको विकल्पको चयन मुद्दा तथा आरोपित कसुरको प्रकृति, घटना हुँदाको परिस्थिति, पीडितको अवस्थालगायत विभिन्न सान्दर्भिक पक्षको सापेक्षतामा निर्भर गर्ने उच्च अदालतको व्याख्या छ ।






