बुटवल,२० चैत ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स च्याप्टरको आयोजनामा अष्ट्रेलियाकाे सिड्नी स्थित रकडेलमा वाल साहित्य कार्यक्रम सम्पन्न भएको छ ।

अष्ट्रेलियामा जन्मेहुर्कैका नेपाली मुलका दोश्रो पुस्ताका वालवालिका लाई भाषा साहित्य र संस्कृति प्रति अभिप्रेरित गरी मातृभाषा सँग जोड़न र वाल साहित्यिक प्रतिभालाई प्ररस्फुटन गर्ने उद्देश्यले बाल साहित्यिक कार्यक्रम आयोजना गरिएको अनेसासले जनाएको छ ।

समाजका अध्यक्ष डा० प्रकाश पौडेलको अध्यक्षता र नेपाल जेसिजका पूर्व अध्यक्ष एवं अन्तराष्ट्रिय जेसिजका पूर्व उपाध्यक्ष,समाजसेवी तथा साहित्यकर्मी अनुपमान सैंजुको प्रमुख आथितित्यता भएको कार्यक्रममा १८ वढी वालवालिकाहरुले साहित्य प्रस्तुति गरेका थिए ।

साे अवसरमा प्रमुख अतिथि सैंजुले प्रवासमा जन्मेर पनि वालवालिकालाई मातृभाषाको प्रवद्धन गर्दै संस्कृत्ति,साहित्य तथा वालवालिकामा भएको प्रतिभा प्ररस्पुटन गर्ने कार्य अत्यन्तै सह्रानीय भएको बताए ।

प्रस्तुतिमा सहभागी वालवालिकालाई प्रोत्साहन स्वरूप
प्रमुख अतिथि सैंजु,समाजका पूर्व अध्यक्ष सानु घिमिरेलगायतले पुरस्कार तथा ट्रफि प्रदान गरेका थिए ।

कार्यक्रममा बिगत ५ वर्षदेखि निरन्तर रचना बाचन गर्दै आएका वालवालिका द्वय आयाम घिमिरे र श्रेष्या पौडेल लाई उत्कृष्ट एवार्डसँगै नगद तथा प्रशंशा पत्रले सम्मान गरिएको थियो ।

नेपाली भाषा,साहित्य र संस्कृतिको प्रवर्द्धनमा संस्थाको अभियान निरन्तर जारी रहने अनेसास न्यु साउथ वेल्स च्याप्टरका अध्यक्ष प्रकाश पौडेलले बताए ।

कार्यक्रममा महासचिव भावना पराजुलीले कार्यक्रमको उद्देश्य तथा महत्वमाथि प्रकाश पारेकी थिइन भने अनेसास सिडनी च्याप्टरका पब्लिक अफिसर मुक्तिराम पोखरेलले सहजिकरण गरेका थिए ।

बेलाभिस्टा साईकियाट्री र वेलबिइङ् क्लिनिक का संगीता चापागाई,नेपाल तराई समाज अष्ट्रेलियाका अध्यक्ष रञ्जित शाह,तथा सेज होम लोन्सका समिर श्रेष्ठकाे सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

समाजका सल्लाहाकार एवं साहित्यकार सौरभ किरण श्रेष्ठले सहभागी बालबालिकाहरुलाई प्रोत्साहन स्वरूप बाल पुस्तकहरु समेत प्रदान गरेका थिए ।