नवलपरासी,१९ चैत ।
मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल प्रतापपुर नगर संगठन समितिले जनसम्बन्ध विस्तार अभियान नेपाल-भारत सीमावर्ती क्षेत्रमा केन्द्रित गरेको छ ।
मंगलवार जिल्लाकाे नेपाल-भारत सीमा जोडिएको प्रतापपुर-५ को बसहियामा क्रान्तिकारी युवा संघ र क्रान्तिकारी महिला संगठनको वडा समिती विस्तार गरेर अभियान संचालन गरिएको हो ।
जनसम्बन्ध विस्तार अभियानलाई सफल बनाउने उद्देश्यले जिल्लाको सबै पालिकामा कार्यक्रम गर्ने क्रममा सीमा क्षेत्रका वडा एवं बस्तीका जनतामा सचेतना फैलाउदै पर्चा बितरण, कोण सभा, पिढिसभा, चोक सभा, जन संगठनको भेला कार्यक्रम गरिएको पार्टीले जनाएको छ । सोही क्रममा प्रतापपुर-५ मा बिनोद कुमार सिंहको नेतृत्वमा ११ सदस्यीय क्रान्तिकारी युवा संघ र अनरावती पासीको नेतृत्वमा ९ सदस्यीय क्रान्तिकारी महिला संगठनको वडा समिति गठन भएको छ ।
सो अवसरमा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेयले नेका,एमाले,माके लगायत संसदवादीहरुको कारण राजावादीहरु सल्बलाएको दाबी गरे । इतिहासको बाटो पछाडि नभएर नयाँ जनवादी क्रान्ति हुँदै बैज्ञानिक समाजवादी बाटोमा जाने उनको भनाइ थियो ।
सो अवसरमा पार्टीको जिल्ला कार्यालय सदस्य दुर्गा नारायण चौधरीले संगठनको आवश्यकता र कार्यक्रमकाे उदेश्य बारे प्रकाश पारेका थिए ।
क्रान्तिकारी युवा संघका पालिका संयोजक दिनेश पासीको अध्यक्षता र मेखनारायण चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रममा क्रान्तिकारी युवा संघको जिल्ला संयोजक रामप्रसाद अर्गेजा,मदन पोखरेललगायतका पार्टीका नेता कार्यकर्ताहरूकाे सहभागीता रहेको साे पार्टीले जनाएको छ ।






