काठमाडौं,९ चैत ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करण आजदेखि भारतमा रूपमा सुरु हुँदैछ ।
प्रतियोगिताको पहिलो खेल साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुनेछ । खेल नेपाली समयअनुसार बेलुकी ७:४५ बजे कोलकातास्थित इडेन गार्डेन्स मैदानमा आयोजना हुनेछ ।
प्रतियोगिताको उद्घाटनलाई भव्य बनाउन चर्चित कलाकारहरूले प्रस्तुति दिने तय भएको छ । अभिनेत्री दिशा पटनी, प्रख्यात गायिका श्रेया घोसालसहित अन्य कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्, जसले उद्घाटन समारोहलाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ ।
गत सिजन सनराइजर्स हैदराबादलाई पराजित गर्दै तेस्रो पटक आईपीएलको उपाधि जितेको कोलकाताले यसपटक उपाधि रक्षा गर्ने रणनीति बनाएको छ ।
त्यस्तै, अहिलेसम्म एकपटक पनि आईपीएलको उपाधि हात पार्न नसकेको रोयल च्यालेन्जर्स बेंगलुरु यस संस्करणमा नयाँ कप्तानको नेतृत्वमा ऐतिहासिक जित दर्ता गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ ।
सन् २००८ मा स्थापना भएको आईपीएलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सले समान पाँच-पाँच पटक उपाधि जितेर सर्वाधिक सफल टोलीको स्थान बनाएका छन् ।
कोलकाताले तीन पटक आईपीएल उपाधि जितिसकेको छ भने डेक्कन चार्जर्स, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले एक-एक पटक उपाधि उचालिसकेका छन् ।
आईपीएलको यो संस्करणमा कुन टोलीले उत्कृष्ट प्रदर्शन गर्नेछ र उपाधि कसको पोल्टामा पर्नेछ भन्ने कौतुहलता अझै कायमै छ ।








