विद्यार्थी संगठनहरूमा प्रजातान्त्रिक अभ्यास र संस्कारको अभाव देखिएको टिप्पणी
बुटवल,५ चैत ।
त्रिभुवन विश्व विद्यालय अन्तर्गतका देशका धेरैजसो क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भइरहेका बेला लुम्बिनी प्रदेशकै महत्त्वपूर्ण बुटवल बहुमुखी क्याम्पससहित रूपन्देहीका अधिकांश क्याम्पसहरू भने सुनसान भएका छन् ।
विद्यार्थी भर्ना लगायतका बिषयमा असन्तुष्टि जनाउँदै विभिन्न विद्यार्थी संगठनहरूकाे तालाबन्दीका कारण रूपन्देहीको बुटवल बहुमुखी क्याम्पससहित अधिकांश क्याम्पसकाे निर्वाचन प्रक्रिया अबरुद्ध भएको हो ।
मतदाता नामावलीमा त्रुटि भएको बिषयलाई लिएर नेविसंघलगायत सात विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका कारण बुटवल बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रियामा अबरुद्ध भएको क्याम्पस प्रमुख डा अरूण कुमार क्षेत्रीले बताए ।

मतदाता नामावलीमा त्रुटि देखिएको स्वीकार गर्दै क्याम्पस प्रमुख क्षेत्रीले विद्यार्थी संगठनहरूबीच पटकपटक छलफल गरे पनि सहमति जुट्न नसकेको जानकारी गराए ।
स्ववियुकाे चुनाव गराउने बिषयमा विद्यार्थी संगठनहरू जिम्मेवार नदेखिएको भन्दै उनलेे पछिल्लो समय विद्यार्थी नेताहरूमा प्रजातान्त्रिक अभ्यासको संस्कार हराउँदै गएको टिप्पणी गरे ।
उनलेे विद्यार्थी संगठनहरूबीच सहमति कायम गराउने चावी मातृ पार्टीमा रहेको भन्दै दलहरूले सहज वातावरण बनाए क्याम्पस प्रशासन चुनाव गराउन तयार रहेको प्रतिक्रिया दिए ।
बुटवल बहुमुखी क्याम्पसमा मतदाता नामावलीमा त्रुटी देखिकाे र त्रुटी सच्याउन माग गर्दै नेविसंघलगायतका दलहरूले क्याम्पसमा तालाबन्दी गरे पनि रूपन्देहीको राममणी बहुमुखी क्याम्पसलगायतका केही क्याम्पसहरूमा बिनाकारण तालाबन्दी गरेको पाइएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा स्ववियु निर्वाचन सहजिकरण कार्यदलका सदस्य विष्णुप्रसाद पाेखरेलले बताए ।

विद्यार्थीहरूले आफ्नो नेता चयन गर्ने लाेकतान्त्रिक अभ्यास स्ववियु निर्वाचन कुनै पनि बहानामा राेक्न नहुने भन्दै उनलेे बिधिसम्मत रूपमा चुनावी प्रक्रियामा गएका कुनै पनि क्याम्पसमा नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका कारण चुनाव नराेकिने दाबी गरे ।
बुटवल बहुमुखी क्याम्पसमा मतदाता नामावलीमा त्रुटी भएको क्याम्पस प्रशासनले स्वीकार गरेको भन्दै उनलेे जहाँ त्रुटी छ सच्याएर निर्वाचन प्रक्रिया सुरु गराै भन्ने नेविसंघलगायतका विद्यार्थी संगठनहरूकाे माग रहे पनि क्याम्पस प्रशासन जिम्मेवार रूपमा प्रस्तुत नभएको आराेप लगाए ।
क्याम्पस प्रशासन कुनै पनि विद्यार्थी संगठनकाे पक्षपोषण गर्न नहुने भन्दै युवा नेता पाेखरेलले बुटवल बहुमुखी क्याम्पसलगायत जिल्लामा राेकिएका क्याम्पसहरूकाे निर्वाचन गराउने बिषयमा प्रमुख दलहरूबीच सम्वाद सुरु भएको जानकारी दिए ।
देशभरका क्याम्पसमा स्ववियु निर्वाचन भइरहदा लुम्बिनी प्रदेशकै महत्त्वपूर्ण क्याम्पसकाे रूपमा रहेको बुटवल स्थित बुटवल बहुमुखी क्याम्पस,भैरहवाको भैरहवा बहुमुखी क्याम्पस,रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पस,बुटवलको लुम्बिनी बाणिज्य क्याम्पस,बुटवलकै सिद्वार्थ क्याम्पस,रूपन्देहीकै,पक्लिहवा क्याम्पसमा स्ववियु निर्वाचन कार्यक्रम अबरुद्ध भएको छ ।
रूपन्देहीको देवदह बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरूबीच सहमतिमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने रूपन्देहीको हरैया स्थित हरैया बहुमुखी क्याम्पस, शहिद रामापुर बहुमुखी क्याम्पस,दुथनाथ थारू बहुमुखी क्याम्पसमा भने आज मतदान सम्पन्न भएको छ ।
जिल्लाका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन कार्यक्रम अबरुद्ध भएपछि नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र लगायतका राजनीतिक दलहरूले अबरुद्ध स्ववियु निर्वाचन प्रक्रिया पुन सुरु गर्न आफु निकटका विद्यार्थी संघ संगठनहरूलाई दबाब दिएका छन् ।
विद्यार्थी संगठनका जिम्मेवार नेताहरूसहित साेमबार बुटवलमा बसेकाे राजनीतिक दलहरूको बैठकले राेकिएका क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न गर्न सहजिकरणका लागि जिल्लाका पार्टी प्रमुख तथा प्रतिनिधिसहितको ६ सदस्यीय कार्यदल गठन गरेका छन् ।
कार्यदलले निर्वाचन प्रक्रिया अबरुद्ध भएका क्याम्पसहरूमा यथाशीघ्र निर्वाचन प्रक्रिया अगाडि बढाउने बिषयमा सराेकारवालाहरूसँग छलफल गरेर निकास निकाल्ने प्रयास गरिरहेकाे नेविसंघका पुर्व केन्द्रीय सदस्य माेतिलाल भण्डारीले जानकारी दिए ।
जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दलहरूले निर्वाचन प्रक्रिया अबरुद्ध भएका क्याम्पसमा पुनः निर्वाचन प्रक्रिया अगाडि बढाउन दबाब दिएसँगै विद्यार्थी संगठनहरू आन्तरिक तयारीमा जुटेको नेविसंघका पुर्व केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिबाट स्ववियु निर्वाचनका लागि खटिएका माेतीलाल भण्डारीले बताए ।
लुम्बिनी प्रदेशकै अर्को महत्त्वपूर्ण क्याम्पस पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस र शहिद रामपुर क्याम्पसमा आज मतदान सम्पन्न भएको छ भने पाल्पाको माण्डब्य बहुमुखी क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
उता गुल्मीका ११ क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच सहमति गरेर सर्वसम्मत नेतृत्व चयन गरेका छन् । जसमध्ये ६ वटामा नेविसंघ र ५ वटा क्याम्पसमा अनेरास्ववियुले नेतृत्व लिएका छन् ।
गुल्मीकै श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा पनि आज मतदान सम्पन्न भएको छ ।
अर्घाखाँचीका दुई क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अबरुद्ध भएपछि दलहरूले सहमतिको प्रयास गरिरहेको बताइएको छ ।
लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तुका ७,नवलपरासीका ३,दाङको राप्ती बहुमुखी क्याम्पस,प्युठानकाे ५,बाँकेका ४ र बर्दियाका ८ क्याम्पसमा आज मतदान सम्पन्न भएको छ ।
त्रिविले जारी गरेको स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०७१ मा तोकिएको मितिमा निर्वाचन हुन नसके १५ दिनभित्र अर्को मिति तोकेर निर्वाचनको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था गरिएको छ । ‘क्याम्पस निर्वाचन अधिकृतको सिफारिसमा क्याम्पस प्रमुखले निर्वाचन स्थगन गरी १५ दिनभित्र मिति तोकेर रोकिएको चरणबाट निर्वाचन अघि बढाउनुपर्नेछ,’ निर्देशिकामा उल्लेख छ ।
स्ववियु निर्वाचनमा उम्मेदवार बन्न २८ वर्ष नपुगेको उमेरको हद तोकिएको छ । स्ववियु अध्यक्ष, सचिव, कोषाध्यक्ष र केही सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् भने उपाध्यक्ष, सहसचिव र केही सदस्य समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित हुनेछन् । क्याम्पसमा रहेका विद्यार्थी मतदाताको संख्याका आधारमा स्ववियुको कार्यसमितिको संख्या कायम हुने व्यवस्था गरिएको छ ।






