ताेकिएकै समयमा निर्वाचन गर्न मातृ पार्टीले दबाब दिएपछि विद्यार्थी संगठनहरू निर्वाचनको वातावरण बनाउन अग्रसर
बुटवल,४ चैत ।
भाेली चैत ५ गते मंगलबारका लागि तय भएको त्रिभुवन विश्व विद्यालय अन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन लुम्बिनी प्रदेशका धेरैजसो क्याम्पसमा अनिस्चित भएको छ ।

विद्यार्थी भर्ना लगायतका बिषयमा असन्तुष्टि जनाउँदै विभिन्न विद्यार्थी संगठनहरूकाे तालाबन्दीका कारण रूपन्देहीको बुटवल बहुमुखी क्याम्पससहित अधिकांश क्याम्पसकाे निर्वाचन अनिस्चित भएको हो ।

कतिपय क्याम्पसमा विद्यार्थी संगठन दर्ता गर्नेदेखि उम्मेदवारी दर्ता भए पनि केही क्याम्पसमा विद्यार्थी संगठन दर्ता प्रक्रियानै अबरुद्ध भएको छ ।

बिवाद नभएका क्याम्पसहरूमा भने भाेली मंगलबार निर्वाचन हुदैछ ।

लुम्बिनी प्रदेशकै महत्त्वपूर्ण क्याम्पसकाे रूपमा रहेको बुटवल स्थित बुटवल बहुमुखी क्याम्पस,भैरहवाको भैरहवा बहुमुखी क्याम्पस,रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पस,बुटवलको लुम्बिनी बाणिज्य क्याम्पस,बुटवलकै सिद्वार्थ क्याम्पस,रूपन्देहीकै रामापुर बहुमुखी क्याम्पस,पक्लिहवा क्याम्पसमा स्ववियु निर्वाचन कार्यक्रम अबरुद्ध भएको छ ।

रूपन्देहीको देवदह बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरूबीच सहमतिमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने रूपन्देहीको हरैया स्थित हरैया बहुमुखी क्याम्पसमा मात्रै भाेली निर्वाचन हुँदैछ ।

जिल्लाका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन कार्यक्रम अबरुद्ध भएपछि नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र लगायतका राजनीतिक दलहरूले ताेकिएकै मितिमा स्ववियु निर्वाचन गर्न आफु निकटका विद्यार्थी संघ संगठनहरूलाई दबाब दिएका छन् ।

विद्यार्थी संगठनका जिम्मेवार नेताहरूसहित आज बुटवलमा बसेकाे राजनीतिक दलहरूको बैठकले पुर्ब निर्धारित समयमै स्ववियु निर्वाचन सम्पन्न गर्न सहजिकरणका लागि जिल्लाका पार्टी प्रमुख तथा प्रतिनिधिसहितको ६ सदस्यीय कार्यदल गठन गरेका छन् ।

कार्यदलले निर्वाचन प्रक्रिया अबरुद्ध भएका क्याम्पसहरूमा यथाशीघ्र निर्वाचन प्रक्रिया अगाडि बढाउने बिषयमा सराेकारवालाहरूसँग छलफल गरेर निकास निकाल्ने प्रयास गर्ने जनाइएको छ ।

जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दलहरूले निर्वाचन प्रक्रिया अबरुद्ध भएका क्याम्पसमा पुनः निर्वाचन प्रक्रिया अगाडि बढाउन दबाब दिएसँगै विद्यार्थी संगठनहरू आन्तरिक तयारीमा जुटेको नेविसंघका पुर्व केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिबाट स्ववियु निर्वाचनका लागि खटिएका माेतीलाल भण्डारीले बताए ।

लुम्बिनी प्रदेशकै अर्को महत्त्वपूर्ण क्याम्पस पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस र शहिद रामपुर क्याम्पसमा भाेली निर्वाचन हुदैछ भने पाल्पाको माण्डब्य बहुमुखी क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

उता गुल्मीका ११ क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच सहमति गरेर सर्वसम्मत नेतृत्व चयन गरेका छन् । जसमध्ये ६ वटामा नेविसंघ र ५ वटा क्याम्पसमा अनेरास्ववियुले नेतृत्व लिएका छन् ।

गुल्मीकै श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा भाेली निर्वाचन हुदैछ । त्यहाँ नेविसंघले अनेरास्ववियुलाई समर्थन गरेको भण्डारीले जानकारी दिए ।

अर्घाखाँचीका दुई क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अबरुद्ध भएपछि दलहरूले सहमतिको प्रयास गरिरहेको उनलेे बताए ।

लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तुका ७,नवलपरासीका ३,दाङको राप्ती बहुमुखी क्याम्पस,प्युठानकाे ५,बाँकेका ४ र बर्दियाका ८ क्याम्पसमा भाेली निर्वाचन हुदैछ ।

त्रिविले जारी गरेको स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०७१ मा तोकिएको मितिमा निर्वाचन हुन नसके १५ दिनभित्र अर्को मिति तोकेर निर्वाचनको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था गरिएको छ । ‘क्याम्पस निर्वाचन अधिकृतको सिफारिसमा क्याम्पस प्रमुखले निर्वाचन स्थगन गरी १५ दिनभित्र मिति तोकेर रोकिएको चरणबाट निर्वाचन अघि बढाउनुपर्नेछ,’ निर्देशिकामा उल्लेख छ ।

स्ववियु निर्वाचनमा उम्मेदवार बन्न २८ वर्ष नपुगेको उमेरको हद तोकिएको छ । स्ववियु अध्यक्ष, सचिव, कोषाध्यक्ष र केही सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् भने उपाध्यक्ष, सहसचिव र केही सदस्य समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित हुनेछन् । क्याम्पसमा रहेका विद्यार्थी मतदाताको संख्याका आधारमा स्ववियुको कार्यसमितिको संख्या कायम हुने व्यवस्था गरिएको छ ।

निर्वाचनका लागि त्रिविले आचारसंहितासमेत जारी गरेको छ । क्याम्पस हाताभित्र भित्ते लेखन, माइक प्रयोग, तुल फ्लेक्स तथा पोस्टर टाँस्न निषेध गरिएको आचारसंहितामा उल्लेख छ । घोषणापत्र र उम्मेदवारको नामवली पर्चा भने एकै रङ र साइजको कागजमा प्रचारप्रसार गर्न पाइने व्यवस्था गरिएको छ । यस पटक निर्वाचनको पर्यवेक्षण गर्ने व्यवस्थासमेत मिलाइएको
त्रिभुवन विश्व विद्यालयले जनाएको छ ।