दाङ,२९ फागुन ।
दाङको घोराही स्थित महेन्द्र बहुमुखी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियनमा सर्वसम्मत नेतृत्व चयन भएको छ । सबै पदमा एक/एक जनाको मात्र उम्मेदवारी परेपछि बिहीबार अन्तिम घोषणा गरेको निर्वाचन समिति सदस्य सुदीप गौतमले जानकारी दिए ।
क्याम्पसकाे स्ववियु अध्यक्षमा दिपेशकुमार डिसी, उपाध्यक्ष प्रशान्त पोख्रेल, सचिवमा सागर पण्डित, सहायक सचिव दीपक केसी र कोषाध्यक्षमा रमिला शर्मा चयन भएको क्याम्पस ले जनाएको छ ।
सदस्यहरुमा बसन्त भण्डारी, चन्द्रा पाण्डेय, पुरुषोत्तम झा, इमन घिमिरे, ऐश्वर्य ददेल, मधुसूदन गिरी, एलिना महरा, पुष्प सुवेदी, खुम रिजाल, दिनेश डाँगी, विकास खड्का, प्रकाश केसी, मदन खड्का, त्रिदेवी वली, सीताकुमारी बुढा मगर र समीक्षा शर्मा चयन भएका छन् ।
विद्यार्थी संगठनहरूले सहमति गरी सर्वसम्मत नेतृत्व चयन गरेका हुन् । २१ सदस्यीय समितिमा नेपाल विद्यार्थी संघले अध्यक्ष, कोषाध्यक्ष र ६ सदस्य, अनेरास्ववियु क्रान्तिकारीले उपाध्यक्ष र दुई सदस्य, अनेरास्ववियुले सचिव र एक सदस्य, अखिल (समाजवादी) ले सहायक सचिव र तीन सदस्य, अखिल (क्रान्तिकारी) वैद्यले एक, अखिल (क्रान्तिकारी) बहुमतले एक, अखिल (छैठौं) ले एक र स्वतन्त्र विद्यार्थी समूहले एक सदस्य लिएका छन् ।
जसमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र आठ सदस्य प्रत्यक्ष निर्वाचनमार्फत र उपाध्यक्ष, सहायक सचिव र आठजना सदस्य गरी १० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ।
जिल्लामा क्रियाशील विद्यार्थी संगठनहरुले दाङका १९ वटा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सर्वसम्मत चयनको प्रयास गरेका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुदैछ । दाङमा विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयअन्तर्गतका २८ वटा क्याम्पस रहेका छन् ।






