दाङ,२९ फागुन ।
दाङको घोराही उपमहानगरपालिका–१४, नयाँ बजारस्थित शुभप्रभात माविकाे विद्यालय व्यवस्थापन समिति गठन गर्ने क्रममा विवाद हुँदा झडप भएको छ । झडपका क्रममा प्रधानाध्यापक रुद्र बुढामाथि पनि आक्रमण भएको छ ।

विद्यालय व्यवस्थापन समिति गठनका लागि बुधबार तेस्रोपटक बोलाइएको भेलामा विवादले उग्ररूप लिएपछि झडपको स्थिति सिर्जना भएको हो । भेलामा गणपुरक संख्या नपुगेका कारण समिति गठनको माइन्यूट गर्न नमानेपछि आफूमाथि आक्रमण भएको प्रधानाध्यापक बुढाकाे दाबी छ ।

पहिलो भेलामा १ सय २८ र दोस्रो भेलामा जम्मा ४८ जना अभिभावक उपस्थित भएपछ गणपुरक संख्या १ सय ८६ नपुगेकाेले बुधबार तेस्रोपटक भेला बोलाइएको विद्यालयले जनाएको छ ।

बुधबारको भेलामा पनि १ सय २३ जना मात्रै अभिभावक भेला भएको र ५१ प्रतिशत गणपुरक संख्या नपुगेको प्रधानाध्यापक बुढाकाे भनाइ छ । गणपुरक संख्या नपुगेको अवस्थामा व्यवस्थापन समिति गठन गर्न नसकिने बताएपछि आफुमाथि कुटपिट भएको भन्दै उनले अब चौथो पटक भेला गरौंभन्दा अहिले नै गठन गर्नुपर्छ भन्ने दवाव दिँदै कुटपिट गरिएको दाबी गरे ।

विद्यालयमा व्यवस्थापन समिति गठनमा सधैं विवाद हुने गरेको र यसअघिको व्यवस्थापन समिति पनि पाँचौंपटकको भेलाबाट मात्रै गठन गरिएको बुढाले बताए ।

कुटपिटमा वडा नं १४ का वडा अध्यक्ष भानसीं बुढा र उनका सहयोगीहरु संलग्न रहेको प्रधानाध्यापक बुढाकाे आरोप छ ।

वडा अध्यक्ष बुढाले भने आफू व्यवस्थापन समिति गठनको भेलामा निमन्त्रणा गरेका कारण गएको तर कुनै पनि अराजक गतिविधिमा संलग्न नभएको बताएका छन् ।

विद्यालय व्यवस्थापन समिति गठनको विषयमा विवाद हुँदा झडप भएको तर अहिलेसम्म कसैले जाहेरी नदिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले बताए ।

घटनामा नेकपा बहुमतका दुई जना कार्यकर्ता घाइते भएकाे र उनीहरु उपचारपछि डिस्चार्ज भैसकेकाे उनले बताए ।