निस्कृय रहेका जातीय तथा क्षेत्रीय माेर्चाहरूलाई ब्युताउने रणनीति
बुटवल,२८ फागुन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौँ जनता सडकमा उतार्ने चेतावनी दिएका छन् ।
बुधबार बुटवलमा आयोजित मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौँ जनता सडकमा
उतारेर खबरदारी गर्ने चेतावनी दिएका हुन् ।
बर्तमान सत्ता गठबन्धन भ्रष्टाचारी र विचौलियाको पक्षमा लागेको आराेप लगाउदै पुरब प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकरकाे बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको माैका छाेपेर इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्त्वहरूले धमिलो पानीमा माछा मार्न खोजेको टिप्पणी गरे ।
उनलेे सरकारका गलत प्रबृत्ति र प्रतिगामी तथा प्रतिक्रियावादी शक्ति दुवै हर्कतका विरुद्ध आवश्यक परे लाखौँ जनता सडकमा उतारेर खबरदारी गर्ने बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रको जननी शक्तिको हैसियतले आफ्नो पार्टीले गणतान्त्रिक व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि सबै परिवर्तनकारी शक्ति र जनतालाई साथमा लिएर जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको भन्दै उनले त्यसका लागि पार्टीले अपिल गर्दा काठमाडौँमा लाखौँ जनता सडकमा उत्रने दाबी गरे ।
जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु अहिलेकाे आवश्यकता रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले कसैले पनि पछाडि फर्कने तर्फने सोचे राम्रो नहुने चेतावनी समेत दिए ।
जनताको बलिदानीपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको र यसले उत्पीडित समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गरेको भन्दै अध्यक्ष प्रचण्डले अहिले आएर संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्वजस्ता उत्पीडित क्षेत्र र समुदायले पाएको अधिकार खोस्ने कुचेष्टा भइरहेको बताए ।
मुलुककाे राजनीति परिवर्तनमा उत्पीडित समुदायको ऐतिहासिक र निर्णायक भूमिका रहेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले
निष्क्रिय रहेका सबै जातीय क्षेत्रीय मोर्चालाई सुदृढ बनाएर जाने नीति लिएकाे उल्लेख गरे ।
भर्खरै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको बेलामा जातीय क्षेत्रीय माेर्चाकाे अझ बढी आवश्यक छ भन्ने निष्कर्ष निकालेको भन्दै उनलेे निष्क्रिय रहेका मोर्चाहरूलाई समेत ब्युँताउँदै सबै जातीय क्षेत्रीय मोर्चालाई सुदृढ बनाएर जाने नीति लिएकाे बताए ।
कार्यक्रममा पार्टीका महासचिव देव गुरूङ,उपमहासचिव बर्षमान पुनलगायतले आ आफ्नो भनाइ राखेका थिए ।