काठमाडौँ,१६ फागुन ।
भारतको उत्तराखण्डस्थित चमोलीको मानामा हिमपहिरोका कारण सडक निर्माणमा संलग्न ५७ जना मजदुर बेपत्ता भएका छन् ।
घटनास्थलबाट अहिलेसम्म १६ जना कामदारलाई उद्धार गरिएको छ र उनीहरुलाई अस्पताल भर्ना गरिएको भारतीय संचार माध्यमहरूले जनाएका छन् । हिमपहिरोमा अझै पनि ४१ जना मजदुर बेपत्ता रहेका छन् ।
भारतीय संचार माध्यमका अनुसार शुक्रबार दिउँसो बद्रीनाथ धाम अगाडि मानामा हिमनदी फुटेका कारण यो दुर्घटना भएको हो । सो स्थानमा सेनाको आवतजावतका लागि सडकबाट हिउँ हटाउन खटिएका ५७ जना कामदारहरू उपस्थित रहेको बेला घटना भएको बताइएको छ ।
अहिले सेनासँगै उद्धार टोलीहरू घटनास्थलमा पठाइएको छ । पानी र हिउँ परिरहेकोले उद्धारमा कठिनाई भएको बताइएको छ साथै खराब मौसमका कारण हेलिकप्टरको प्रयोग गर्न पनि नसकिएको बताइएको छ ।
केन्द्रीय गृहमन्त्री अमित शाहले पनि घटना बारे एक्समा लेखेका छन्- ‘उत्तराखण्डको चमोलीमा हिमनदी फुटेको बारेमा मुख्यमन्त्री पुस्कर धामीसहित डिजी, आइटीबीपी र एनडीआरएफ डिजीसँग कुरा गरेँ । हाम्रो प्राथमिकता दुर्घटनामा फसेका मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्नु हो । स्थानीय प्रशासन पूर्ण तयारीका साथ उद्धार कार्यमा जुटेको छ । दुई एनडीआरएफ टोलीहरू पनि चाँडै घटनास्थलमा पुग्दैछन् ।’