काठमाडौँ,१६ फागुन ।
खराब मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो ।

मौसम खराबीले परराष्ट्रमन्त्री आरजु राणा देउवा आएको जहाज पनि कोलकाता डाइभर्ट भएको छ । विमानस्थल कार्यालयका अनुसार दोहाबाट आएको कतार एयरवेजको जहाज कोलकाता डाइभर्ट भएको हो ।

त्यस्तै मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको जहाज दिल्ली डाइभर्ट भएको छ । त्यस्तै चीनको तियान्फुबाट आएको सिचुआन एयरलाइन्सको जहाजको तिब्बतको ल्हासा डाइभर्ट भएको छ । अहिले भने मौसममा सुधार आएसँगै अन्तर्राष्ट्रियतर्फ उडान सुरु भएको कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान भइरहे पनि काठमाडौंबाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुनसकेको छैन ।

आन्तरिकतर्फ भने जनकपुर, भैरहवा र भद्रपुरका लागि काठमाडौंबाट विमान उडेका छन् । त्यस्तै नेपालगन्ज, जनकपुर र धनगढीबाट पनि काठमाडौं जहाज आएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरमा मौसममा बदली देखिएको छ ।

खासगरी तराईका केही स्थानहरूमा लागेको हुस्सु मध्याह्नपछि क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।