बुटवल,५ फागुन ।
भारतको कुम्भमेला स्नान गर्न गरेर फर्कदै गरेको गाडी दुर्घटना हुँदा रूपन्देहीका तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

कुम्भमेलाबाट फर्किँदै गरेकाे गाडी साेमबार बिहान भारत उत्तर प्रदेशको आजमगढ वाराणसी सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्स्पेक्टर महेन्द्र सेनले जानकारी दिए ।

युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी कुम्भ मेलाबाट फर्किदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसीमा अनियन्त्रित भै सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जानकारी आएको सेनले बताए ।

मृत्यु हुनेमा देवदह नगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय गणेश खनाल,उनकी श्रीमती ३५ वर्षीय दीपा खनाल र वडा नम्बर ९ कै ४० वर्षीया गीता शर्मा रहेका छन् ।

दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन् । घाइतेहरूको गोरखपुरमा उपचार भइरहेको छ ।