बुटवल,२५ माघ ।
रुपन्देहीकाे तिलोत्तमा नगरपालिकामा निमार्णाधिन एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा फ्लड लाइट जडानको काम सुरु भएको छ ।

फ्लड लाइटका आवश्यक सामाग्री मैदानमा आइसकेको र जडानकाे प्रारम्भिक कार्य सुरु गरिएको एकेडेमीले जनाएको छ ।
एकेडेमीले शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गरि रंगशाला निर्माणकाे प्रगतिबारे जानकारी गराएको हो ।

गुल्मीमा जन्मिएर राेजगारीकाे शिलसिलामा अष्ट्रेलियमा बस्दै आएका एक्ट्राटेकका प्रबन्ध निर्देशक विनोद कुँवरको एकल लगानीमा गत वर्ष जेठ २९ गते सिलान्यास गरी निर्माण सुरु गरिएको रंगशाला फ्लड लाइट जडान गरिने नेपालको पहिलो क्रिकेट मैदान बन्ने भएको छ ।

सिलान्यास भएको ९ महिनामा मैदानको पिच तयार गर्दै क्रिकेट खेल्न मिल्ने मैदान निर्माण गरि फागुन २८ गते मैदानको उद्घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता हुने भएको थियो ।

पत्रकार सम्मेलनमा ओवलका डाइरेक्टर कुँवरले नेपाली क्रिकेटका लागि निकै महत्ववपूर्ण पहिलो काम गरिएको बताउँदै अबको एक महिनाभित्र फल्ड लाईटपूर्ण रुपमा जडान भै डे नाईट म्याच खेलाउन सकिने अवस्थामा पुग्ने बताए ।

‘एक महिनाभित्र लाइट जडान र परीक्षण गर्ने लक्ष्य छ,’ उनले भने, ‘एक्ट्राटेक ओभल फ्लडलाइट जडान भएको पहिलो क्रिकेट मैदान हुनेछ ।’

स्टेडियम सिलान्यासपछि निर्माणको सन्दर्भमा फेरि निकै महत्वपूर्ण चरणमा आईपुगेकाे उल्लेख गर्दै कुँवरले स्टेडियममा फ्लड लाइट जडानको काम नेपाली क्रिकेटका लागि पहिलो हुने जनाएका छन् ।

कुँवरले भने-‘अबको एक महिनाभित्र फ्लड लाईटपूर्ण रुपमा जडान भै डे नाईट म्याच खेलाउन सकिने छ ।’ नेपालका लागि नयाँ काम भएका कारण यो अन्तराष्ट्रिय मापदण्ड अनुसार तयार गर्न निकै मेहेनत गर्नु पर्ने अवस्था रहेको उनले बताए । फ्लड लाइटको लागत करिब ७ करोड रहेको उनले जानकारी दिए ।

फ्लड लाइट जडानको काम सकिएपछि प्यारापिट निर्माणको कामलाई तीब्रताका साथ अघि बढाउने कुँवरको योजना रहेको छ । मैदानमा फ्लड लाइटको कामसंगै अन्य भौतिक संरचना निर्माणको काम पनि अघि बढिरहेको छ ।

मैदानमा भिआइपी बक्स, प्लेयर बक्स, चेञ्जिंग रुम र मिडिया बक्ससहितको चार–चार तलाको २ वटा भवन बनिरहेको छ ।

जसमा अहिले तेस्रो तलाको काम भैरहेको छ, तत्काल कुनै प्रतियोगिता आयोजना भए भिआईपी बक्सबाट बसेर खेल हेर्न सकिने अवस्थामा पुगेको छ ।

निर्माण सुरु भएको पहिलो वर्ष क्रिकेट मैदान, पिचसंग सम्बन्धित कामसहित ५ हजार दर्शक क्षमताको रंगशाला बनाउने योजना बनाएका लगानीकर्ता कुँवरले नेपालमा डे नाइट क्रिकेट खेलाउने अवस्था नभएको देखेर प्यारापिटको कामलाई पछाडि धकेलेर फ्लड लाइटको काम अगाडि बढाएको बताएका छन् ।

उनले प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता बढाउँदै लगेर आगामी ४ वर्षभित्र रंगशालालाई २५ हजार दर्शक क्षमताको बनाइने लक्ष्य राखेका छन् ।

रंगशाला निमार्णको सुरुवाती काममा आफै खटेका कुवँर फ्लड लाइटको जडानमा पनि आफै खटेर गर्ने योजना सहित अष्ट्रेलियाबाट एक हप्ता अगाडि नेपाल आएका हुन् ।

नेपाल बसाईका क्रममा उनले प्रधानमन्त्री, अर्थमन्त्री, नेपाल क्रिकेट संघका पदाधिकारीसंग पनि भेटगरि छलफल गरेको जनाएका छन् ।

गुल्मी घर भै अष्ट्रेलियामा बस्दै आएका विनोद कुँवर र उनकी श्रीमती सुदीक्षा गौतमले निजी लगानीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउछु भन्दै गर्दा धेरैलाई पत्यार लागेकै थिएन तर अहिले पौने ५ विघा जग्गामा २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशालासहित एकेडमी भवन निमार्णले तिब्रता पाएको छ ।