Share this News on Social Networking Pages

बुटवल,२३ माघ ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा शैक्षिक पर्यटनकाे सम्भावनालाई मध्यनजर गरी उपमहानगरपालिकाले शिक्षामा लगानी गरेको बताएका छन् ।

बुधबार बुटवलको कालिकानगर स्थित कालिका मानवज्ञान माविका छात्राहरूलाई पाठेघरकाे मुखको क्यान्सर बिरूद्वकाे खाेप अभियानकाे शुभारम्भ गर्दै नगर प्रमुख पाण्डेयले बुटवललाई शैक्षिक पर्यटनको गन्तव्यकाे रूपमा विकास गर्ने योजना अनुरूप शिक्षामा लगानी गरिएको बताएका हुन् ।

“शिक्षाका लागि बुटवल” भन्ने नाराकालाई साकार पार्न बुटवल उपमहानगरपालिकाले शिक्षामा कूल बजेटकाे २६ प्रतिशत बजेट बिनियाेजन गरेको जानकारी गराउदै उनलेे सरकारी विद्यालयकाे शैक्षिक स्तर कसरी बृद्वि कसरी गर्न सकिन्छ भनेर सिक्नका लागि बुटवल आउने वातावरण बनाउनुपर्नेमा जाेड दिए ।

नेपालका सरकारी विद्यालयहरूकाे शैक्षिक गुणस्तरमाथि नकारात्मक टिकाटिप्पणी भइरहेका बेला बुटवलको कालिका मानवज्ञानलगायतका केही सरकारी विद्यालयहरूलेे शैक्षिक गुणस्तर बृद्वि गर्न सफल भएको भन्दै नगर प्रमुख पाण्डेयले अन्य विद्यालयहरूले पनि त्यसको सिकाे गर्नुपर्ने आवश्यकता औल्याए ।

नैतिक शिक्षा बिनाको शिक्षाकाे कुनै अर्थ नहुने भन्दै उनलेे संस्कारयुक्त,सीपमूलक गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको उल्लेख गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बुटवलका १० हजार किशोरीहरूलाई एचपिभी खाेप लगाउने योजना रहेको भन्दै कालिका मानवज्ञान माविका मात्रै एक हजार छात्राहरूले खाेप लगाउने तयारी रहेको जानकारी गराए ।

यो खाेप सतप्रतिसत प्रभावकारी र सुरक्षित छ भन्ने पुष्टि भएको भन्दै उनलेे ढुक्कसँग खाेप लगाउन आग्रह गरे ।

मंगलबारदेखि सुरु भएको खाेप अभियान अन्तर्गत हिजो २५ सय बालबालिकालाई खाेप लगाइएको उनलेे बताए ।

छ कक्षा भन्दा माथि अध्ययन गर्ने विद्यार्थी रहेका सबै विद्यालयमा खाेप केन्द्र रहेको जानकारी गराउदै उनलेे विद्यालयमा खाेप लगाउन छुटेका किशोरीहरूलाई बुटवलको आम्दा अस्पतालबाट खाेप लगाउन सकिने उल्लेख गरे ।

साे अवसरमा कालिका मानवज्ञान माविका हजारौं विद्यार्थीले एकसाथ पिटी प्रदर्शन गरेका थिए ।

कार्यक्रममा कालिका मानवज्ञान मावि विद्यालय ब्यवस्थापन समिति अध्यक्ष नित्यानन्द ज्ञवाली,बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक,कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापालगायत विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूकाे सहभागीता रहेको थियो ।