Share this News on Social Networking Pages

काठमाडौँ,१७ माघ ।
नेपाल शिक्षक महासंघ फेरि आन्दोलनमा उत्रिने भएको छ ।

आज (बिहीवार) राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी
महासंघले चरणवद्व आन्दोलनको घाेषणा गरेको हो ।

आफुहरूका माग प्रति सरकारले बेवास्ता गरेको भन्दै दबाब दिन आन्दोलन कार्यक्रम घोषणा गरिएको महासंघले जनाएको छ ।

महासंघले माघ २० गते सबै शिक्षक कर्मचारीले फेसबुक वालमा आयताकार रातो स्टिकर प्रयोग गरी ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ लेखी पोस्ट गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, स्थानीय तहमा माघ २५ गते सबै पालिकामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने, फागुन ११ गते जिल्ला आन्दोलन परिचालन समितिको संयोजनमा सबै जिल्लाका सबै निर्वाचन क्षेत्रबाट निर्वाचित सङ्घीय सांसदलाई सरकार र महासङ्घबीच भएका विगतका सबै सहमति समावेश गरी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रत्यक्ष भेट नभए इमेल पठाइ फोनबाट जानकारी दिने पनि उक्त पत्रमा उल्लेख छ । त्यस्तै, महासंघले २०८१ फागुन १७ गते शनिवार काठमाडौँमा कालो पट्टीसहित वृहत जुलुस प्रदर्शन तथा खबरदारी सभा गर्ने घोषणा गरेको छ ।

त्यसपछि फागुन १९ गते दोस्रो चरणका कार्यक्रम सार्वजनिक हुने महासंघले जनाएको छ । जसमा राजधानीमा सांगठनिक शक्ति प्रदर्शन, असहयोग, अवज्ञा (बहिष्कार) तथा अवरोधजन्य कार्यक्रम ल्याइने महासंघले चेतावनी दिएको छ ।