काठमाडौं,१२ माघ ।
आप्रवासन नीतिमा कडाइ गर्ने घाेषणा गरेको डाेनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा अवैध आप्रवासीहरु विरुद्ध लगातार कारबाही गरिरहेको छ ।
साेही क्रममा अमेरिकामा सयौं अवैध आप्रवासीलाई पक्राउ गरी देश निकाला गरिएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकी अधिकारीहरूले ५३८ गैरकानुनी आप्रवासीलाई पक्राउ गरेको र सयौंलाई सैन्य विमान प्रयोग गरेर देश निकाला गरेको बताए ।
क्यारोलिन लेभिटले भने, ‘ट्रम्प प्रशासनले एक संदिग्ध आतंकवादी, ट्रेन डे अरागुआ गिरोहका ४ सदस्यहरू र नाबालिगहरू विरुद्ध यौन अपराधमा दोषी ठहरिएका धेरै अवैध आप्रवासीहरू सहित ५८३ अवैध आप्रवासीहरूलाई पक्राउ गरेको छ । ’
‘ट्रम्प प्रशासनले सयौं गैरकानुनी आप्रवासीहरूलाई सैन्य विमानमार्फत देश निकाला गरेको छ, इतिहासको सबैभन्दा ठूलो निर्वासन अभियान राम्रोसँग चलिरहेको छ, निर्वाचनमा जे वाचा गरिएको थियो, त्यो वाचाहरू पूरा गरिदैँछ’ उनले भने । ह्वाइट हाउसले थप भन्यो कि यो सरकारले देशको सिमाना सुरक्षित गर्न के गरिरहेको छ भन्ने सानो झलक हो ।
डोनाल्ड ट्रम्पले राष्ट्रपति बनेलगत्तै धेरै महत्त्वपूर्ण निर्णय लिएका थिए । सबैभन्दा पहिले उनले बाइडेन प्रशासनका ७८ वटा निर्णय रद्द गरेका थिए । सो क्रममा अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा गरिएको छ भने ट्रम्पले मेक्सिकोको सिमानामा फेरि पर्खाल बनाउने घोषणा गरेका छन् ।








