Share this News on Social Networking Pages

बुटवल,२ माघ ।
बुटवलमा जारी तेस्रो रुपन्देही जिल्लास्तरीय छात्रा भलिबल प्रतियोगितामा अन्तिम चार टिमको टुगो लागेको छ ।

बुटवल स्थित न्यु होराइजन मावि बुटवलको संरक्षकत्वमा न्यु होराइजन स्पोर्टस क्लबद्वारा आयोजित प्रतियोगिता अन्तर्गत बुधबार भएका क्वाटरफाइनल खेलहरुमा विजयी हुदै एभरेष्ट, कुंवरवर्ती, कालिका र न्यू होराइजन अन्तिम चारमा स्थान बनाएका हुन ।

पहिलो क्वाटरफाईनलमा एभरेष्टले ग्रीनप्लान्ट, देवदहलाई ३–० को सोझो सेट, कालिका मानव ज्ञान माबिले कान्ति माविलाई ३–१ को सेट, कुंवरवर्ती ईगलिस बोर्डिङ स्कुलले बुद्ध पब्लिकलाई ३–० को सोझो सेट तथा न्यू होराइजनले नवज्योति बोर्डिङ स्कुललाई ३–० को सोझो सेटमा पराजित गरेका हुन ।

बिहीबार एभरेष्ट र कुंवरवर्तीबीच पहिलो सेमिफाइनल तथा मानवज्ञान मावि र न्यू होराइजन मावि बिच दोस्रो सेमिफाइनल खेलका साथै फाइनल प्रतिस्पर्धा पनि हुने विद्यालयका खेल संयोजक मिलन रानाले बताए । १२ टिमले भाग लिएको भलिबलको उपाधि विजेताले नगद नगद ४० हजार, उपविजेताले नगद २५ हजार रुपैया, तेस्रो टिमले नगद १५ हजार रुपैया तथा चौथो टिमले नगद १० हजार रुपैया नगद तथा कप, मेडल, प्रमाणपत्र पाउने छन् ।

यस्तै न्यू होराइजन स्पोर्टस क्लबको आयोजनामा जारी बास्केटबल प्रतियोगिताको छात्रतर्फ ब्रिटिस ग्रामर स्कूल र एभरेष्ट बोर्डिङ तथा छात्रा तर्फ एभरेष्ट र सिद्धार्थ बोर्डिङ स्कूल फाइनलमा प्रवेश गरेका छन् । बुधबार भएका छात्र सेमिफाइनल खेलमा ब्रिटिस ग्रामरले दीपलाई २४–११ अंक तथा एभरेष्टले न्यू होराइजनलाई १५–१३ अंकले पराजित गरेका हुन । यस्तै छात्रातर्फ एभरेष्टले न्यू होराइजनलाई १३–४ अंक तथा सिद्धार्थले दीप बोर्डिङलाई ११–० अंकले पराजित गरेको छ ।

बास्केटबलको फाइनल र पुरस्कार वितरण पनि बिहीबार नै हुने न्यू होराइजन स्पोर्टस् क्लबका उपाध्यक्ष तथा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख बालकृष्ण बस्यालले बताए ।

बास्केटबलमा छात्रतर्फ ६ र छात्रातर्फ ४ टिमले प्रतिस्पर्धा गरेका छन् । बास्केटबलमा विजेता टिमलाई नगद १० हजार र उपविजेतालाई नगद ५ हजार रुपैया नगद सहित पुरस्कृत गरिने विद्यालयका खेल संयोजक मिलन रानाले बताए ।