काठमाडौं,२३ पुस ।
मंगलबार बिहान चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पमा अहिलेसम्म मृत्यु हुनेको संख्या ९५ पुगेको छ । भूकम्पमा परेर तिब्बतमा मात्रै अहिलेसम्म १३० जना घाइते भएका छन् ।
चिनियाँ भूकम्प मापन केन्द्रले उक्त भूकम्पलाई ६.८ रेक्टर स्केल मापन गरेको छ । भूकम्पबाट भएको भौतिक क्षतिबारे अहिलेसम्म विस्तृत विवरण नआइसकेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
चीनको राज्य परिषद्को भूकम्प राहत विभाग र आपतकालीन व्यवस्थापन विभागले मङ्गलबार सियाङ स्वायत्त क्षेत्रको सिगात्से सहरमा गएको भूकम्पपछि तीन तहको आपतकालीन उद्धार प्रक्रिया सक्रिय गराइएको जनाएको छ ।
यसैबीच चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पपछि राहत र उद्धारमा सबै शक्ति लगाउन निर्देशन दिएका छन् ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सीले मंगलबार मध्यान्ह बेइजिङ र तिब्बतस्थित सरकारी अधिकारीहरूलाई राहत र उद्धारमा सबै शक्ति केन्द्रित गर्न निर्देशन दिएका छन् ।
भूकम्पपछि विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र चीनले अस्थायी रुपमा बन्द गरेको छ । चीन सरकारले तिब्बती मोहडातर्फको क्षेत्रबाट पर्यटकहरूलाई प्रवेशमा रोक लगाउँदै अस्थायी रुपमा बन्द गरेको सीजीटीएनले जनाएको छ ।








