बुटवल,१८ पुस ।
बुटवलमा सञ्चालित छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि कालिका मानवज्ञान माविले उचालेकाे छ ।

१८ स्वर्ण,८ रजत र २ कास्य गरी २८ पदकसहित कालिकाले लगातार तेस्रोपटक उपाधि हात पारेको हो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा न्यु होराइजन मावि द्वितीय भएको छ भने गार्गी एकेडेमीले तेस्रो स्थान प्राप्त गरेको छ ।

१० स्वर्ण,३ रजत र ५ कास्य गरी १७ पदकसहित न्यु होराइजन द्वितीय भएको हो भने ६ स्वर्ण,६ रजत र ९ कास्य पदक जितेर गार्गी तेस्रो भएको बुटवल नगर खेलकुद विकास समितिका सचिव प्रेमबहादुर बस्नेतले जानकारी दिए ।

बिजेता खेलाडी तथा विद्यालयहरूलाई बिहीबार बेलुका बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय,उपप्रमुख सावित्रा देवी अर्याल,बुटवल उपमहानगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका खेल कमिसार हरिप्रसाद श्रेष्ठ,बुटवल उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष तथा उपमहानगरपालिकाका प्रवक्ता शिव राना,बुटवल उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष नरिश्वर शर्मा पाैडेल,बुटवल उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष लाेकनाथ न्याैपाने,बुटवल नगर खेलकुद विकास समिति संयोजक बाेनिन पिया लगायतले शिल्ड,मेडल,प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे ।

प्रतियोगिताकाे मंगलबार बुटवलको दिपनगर स्थित सिद्वेश्वरी खेल मैदानमा एक बिशेष कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उदघाटन गरेका थिए ।

प्रतियोगितामा नगर भित्रका ५३ विद्यालयका एक हजार चार सय ७० विद्यार्थीले प्रतिस्पर्धा गरेकाे नगर खेलकुद विकास समितिका सह संयोजक लालहरी पाण्डेयले जानकारी दिए ।