बुटवल,१७ मंसिर ।
बुटवल कालिका क्याम्पसले मँगलबारदेखि सप्ताहव्यापी कार्यक्रमसहित ११ औं वार्षिकोत्सव तथा अभिवाक दिवस मनाउने भएको छ ।
बुटवल उपमहानगरपालिका–१० रामनगरमा अवस्थित क्याम्पसले मँगलबार बृहत सरसफाई कार्यक्रमसहित सप्ताहब्यापी कार्यक्रम सुरुवात गर्ने प्राचार्य घनश्याम पाठकले जानकारी दिए ।
क्याम्पसले साेमबार पत्रकार सम्मेलन गरी वार्षिकोत्सवकाे तयारीबारे जानकारी गराएकाे हो ।
स्थापनाको छोटो समयमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्राचार्य पाठकले दाबी गरे । त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति प्राप्त साे क्याम्पसमा हाल अध्यापन हुने बिसिए, बिबिए, बिएड, बिए र स्नातकोत्तर तह एमए आरडी तर्फ उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको उनले बताए । उनलेे निकट भविष्यमै गुणस्तर सुनिश्चिता प्रत्यायन (क्यूएए) प्राप्त गर्ने बताउँदै उनले त्यसका लागि अन्तिम पिआरटी भैसकेको जानकारी गराए ।
२०७० सालमा स्थापना भएको यस क्याम्पसमा विभिन्न संकायतर्फ हाज ३ हजार ९३६ विद्यार्थी रहेका छन् । सामुदायिक स्तरबाट सञ्चालित यस क्याम्पसले अघिल्लो शैक्षिक स त्रमा १ हजार २१५ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको थियो ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीले क्याम्पसमा डिजिटल प्रविधिलाई प्रोत्साहन गरिएको बताउँदै प्रविधि थप गर्ने योजना रहेको उल्लेख गरे ।
मंसिर २४ गतेसम्म मनाउने सप्ताहव्यापी कार्यक्रम अन्तर्गत अन्तर संकाय छात्रछात्रा भलिबल, रिले दौड प्रतियोगिता, कबड्डी प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, टेबल टेनिस प्रतियोगिता, नृत्य प्रतियोगिता, बेलुन फुक्ने प्रतियोगिता हाजिरी जबाफ प्रतियोगिता हुने छन् ।
यसैगरी शिक्षक कर्मचारी बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत निःशुल्क आँखा र दन्त परीक्षण समेत आयोजना गरिने प्राचार्य पाठकले जानकारी दिए । साताव्यापी कार्यक्रमको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले उद्घाटन गर्ने र मूल समारोहलाई लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले बताए ।






