बुटवल,१४ मंसिर ।
न्यु हाेराइजन माद्यमिक विद्यालयकाे आयोजनामा आजदेखि बुटवलमा न्यु हाेराइजन प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताकाे शुक्रबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले सिपसहितकाे नैतिक शिक्षा बुटवलको एजेन्डा भएको भन्दै साेहि अनुसार बुटवल उपमहानगरपालिकाले बजेट छुट्याएको बताए ।

शिक्षामा सबैभन्दा धेरै बजेट छुट्याउने पालिका बुटवल रहेको भन्दै उनलेे चालु आर्थिक बर्षमा शिक्षाका लागि बुटवलले २६ प्रतिशत वजेट छुट्याएकाे जानकारी गराए ।

शिक्षासँगै बुटवल उपमहानगरपालिका देशकै सबैभन्दा धेरै खेलकुद प्रतियोगिता आयोजना गर्ने पालिका भएको दाबी गर्दै नगर प्रमुख पाण्डेयले सरकारी र निजी विद्यालयहरूबीच समन्वय र सहकार्य गरेर अगाडि बढ्ने पालिका पनि बुटवल भएको उल्लेख गरे ।

उच्च शिक्षा हाशील गरेका विद्यार्थीहरूले सामान्य निवेदन समेत लेख्न नजान्ने अवस्था रहेको भन्दै उनलेे सीप सहितको शिक्षा, माैलिक संस्कृतिसहितको नैतिक शिक्षा आजको आवश्यकता भएको बताए ।

शिक्षा र स्वास्थ्यकाे क्षेत्रमा भएको प्रगतिकै कारण बुटवलकाे छुट्टै पहिचान स्थापित भएको भन्दै उनलेे बुटवललाई शिक्षा र स्वास्थ्यकाे हबकाे रूपमा विकास गर्ने योजना रहेको बताए ।

बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले सामुहिक प्रयासकै कारण बुटवलका सामुदायिक विद्यालयहरूले उत्कृष्ट नतिजा दिन सफल भएको भन्दै २१ औं सताब्दीका शिक्षण संस्थाहरू समय र परिस्थिति अनुसार रूपान्तरण हुन जरुरी रहेको बताए ।

बिगतमा विद्यालय पढ्ने पढाउने थलोका रूपमा रहेको भन्दै उनलेे विद्यालयहरू पढ्ने पढाउने मात्रै नभएर अब सिक्ने र सिकाउने थलोकाे रूपमा रूपान्तरण हुनुपर्नेमा जाेड दिए ।

न्यु हाेराइजनका प्रिन्सिपल लाेकनाथ उपाध्यायले मुलुककाे शैक्षिक विकासमा निजी शिक्षण संस्थाहरूकाे महत्त्वपूर्ण याेगदान रहे पनि राज्यलेनिजी शिक्षण संस्थालाई तिरस्कार गर्ने गरेको गुनासो गरे ।

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्र कसजुले नाफा कमाउनका लागि शिक्षामा लगानी गरेको नभएर अध्ययनका लागि यस क्षेत्रका विद्यार्थीहरू अन्यत्र जान नपराेस भन्ने उदेश्यले आफुहरूले निजी शिक्षण संस्थामा लगानी गरेको बताए ।

कार्यक्रम संयोजक मुक्तिनाथ पाैडेलकाे स्वागत मन्तब्यबाट सुरु भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा अभिभावक संघ रूपन्देहीका अध्यक्ष लाेकनाथ ज्ञवाली,विद्यालयकी शिक्षिका कल्पना कुसुमलगायतले आ आफ्नो भनाइ राखेका थिए ।

प्रतियोगितामा ७५ विद्यालयहरूकाे सहभागीता रहेको छ ।

प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता अन्तर्गत बुटवलका अलावा दाङको लमही र पाल्पाको तानसेनमा पनि सञ्चालन भइरहेको न्यु हाेराइजनका प्रिन्सिपल लाेकनाथ उपाध्यायले जानकारी दिए ।