बुटवल,२ मंसिर ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा नेपाल—चिन मित्रता शिला स्तम्भ स्थापना भएको छ ।
विश्वविद्यालयको बौद्ध अध्ययन संकायबाट आज एक कार्यक्रमकाबीच मित्रता शिला स्तम्भ अनावरण गरिएको विश्वविद्यालयले जनाएको छ ।
गाैतमबुद्धकाे जन्मस्थल लुम्बिनी स्थित विश्वविद्यालयको बौद्ध अध्ययन संकायको कार्यालय परिसरमा निर्मित सो स्तम्भको
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य र नेपाल- चीन साँस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष ली पोज्यूले अनावरण गरेका हुन् ।
कार्यक्रममा बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. बज्राचार्यले स्तम्भ अनावरणसँगै नेपाल र चीनबीचको सम्बन्ध अझै सुमधुर बन्दै जाने विश्वास व्यक्त गरे । बौद्ध विश्वविद्यालको विकास र शैक्षिक उन्नयनमा चीनको सदैव सकारात्मक सहयोग रहँदै आएको बताउँदै उनले आगामि दिनमा नेपाल चीनबिचको साँस्कृतिक आदानप्रदान रहिरहने उल्लेख गरे ।
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गरी विदेशी विद्यार्थीलाई आकर्षण गर्ने गरी योजना अघि बढाइएको भन्दै उनले यी योजना सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।
नेपाल- चीन साँस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष ली पोज्यूले सबैको समूहिक प्रयासमा मित्रता स्तम्भ राख्ने काम सफल भएको बताउँदै यो प्रयासले विश्वविद्यालय र चिनियाँ जनताबीचको सम्पर्क र सहकार्य थप बलियो हुने विश्वास ब्यक्त गरे । “हाम्रो केन्द्रले विगत दश वर्षदेखि नेपाल र चीनका विविध क्षेत्रहरु र व्यक्तिहरुको सहकार्य गर्ने आधार प्रदान गर्दै आएको छ ”, उनले भने,“हागामी दिनमा बुद्धभूमिबाट बुद्ध अनुयायीलाई सुख, शान्ति र समृद्धि प्राप्त होस् ।”
चीनका प्रसिद्ध क्यालिग्राफी कलाकार क्वान तोंगले आफ्नो कलाकृति चीनको परम्परागत सँस्कृति “फू ” लिपीसँग सम्बन्धित रहेको जनाउँदै जसले आफैमा गहन अर्थ र भाव व्यक्त गरेको र स्थापित शिलामा बुद्ध ज्ञानसँग सम्बन्धित बोधीको प्रतिनिधित्व गर्ने पिपलको पात र बुद्धरुप चित्रित गरेको जानकारी गराए ।
नेपाल र चीन बीचको प्राचीन सँस्कृतिको अन्तरघुलन होस् भन्ने अभिप्रायले स्थापना गरिएको शीलामा चीनमा प्रतिष्ठित बहुमुल्य मानिने कलाकृति अभिलेख गरिएको छ ।
नेपाल र चीन बीचको सम्बन्ध विस्तारका लागि शीला स्तम्भ स्थापना गरिएको बौद्ध अध्ययन संकायका डीन डा. माणिकरत्न शाक्यले बताए ।
लामो समयको प्रक्रियापछि करिब तीन महिना अगाडि शीला स्तम्भ लुम्बिनीमा ल्याइएको र आज चिनियाँ प्रतिनिधिको रोहबरमा अनावरण गरिएको उनको भनाइ छ ।






