काठमाडौं,२६ कार्तिक ।
आईसीसी अन्डर नाइन्टिन महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मंगलबार कुवेतसँग खेल्दैछ ।
यूएईस्थित सेभेन्स स्टेडियममा खेल नेपाली समय अनुसार मंगलबार बिहान सवा ११ बजे सुरु हुनेछ । यसअघि आइतबार भएको आफ्नो चौथो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ६ रनको विशाल अन्तरले पराजित गरेको थियो । पहिलो खेलमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको थियो ।
प्रतियोगितामा नेपालसहित घरेलु टोली यूएई, थाइल्यान्ड र कुवेत सहभागी छन् । सहभागी चार टोली मध्ये डबल राउन्ड रोविनका आधारमा शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।
नेपालले अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ। नेपाल युएईसँग १३ रनले पराजित भएको थियो । प्रतियोगिता अन्तरगत मंगलबार अपरान्ह यूएई र थाइल्याण्ड भिड्ने छन् । यूएई जारी प्रतियोगितामा अपराजित टोली हो ।








