बुटवल,२५ कार्तिक ।
बुटवलका चर्चित कार्यक्रम उद्घाेषक संचारकर्मी सुमनरश्मी श्रेष्ठ र विकास गौतमद्वारा लिखित उद्घोषण पाठशाला नामक पुस्तक बुटवलमा लोकार्पण गरिएको छ ।

पुस्तककाे आइतबार एक कार्यक्रमबीच पुस्तक लेखकद्वयका पिता सत्यरश्मी श्रेष्ठ र देवीराम पाण्डेलगायतले सार्वजनिक गरेका हुन् ।

पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै लेखकद्वय श्रेष्ठ र गौतमले उद्घोषणकला सम्बन्धि पाठ्य सामग्री आवश्यक देखिएको हुनाले पुस्तक प्रकाशन गरिएको बताए । विगत डेढ दशकदेखि पत्रकारिता र उद्घोषणकलाबारे तालिम दिंने क्रममा तयार गरिएका सामग्री पुस्तकमा समेटिएको लेखक द्वयले बताए ।

पुस्तकबारे बोल्दै समिक्षक युवराज कंडेलले उद्घोषणकला सिक्न चाहनेहरुको लागि उद्घोषण पाठशाला राम्रो पाठ्यसामग्री भएको बताए । संचारकर्मीको लागि मात्र नभएर सबैको लागि विषयबस्तु मिलाएर प्रस्तुत गर्ने कला आवश्यक रहेकोले यसप्रकारका पुस्तक उपयोगी हुने उनको भनाइ छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपाने लगायतले शुभकामना दिएका थिए ।

पुस्तकमा बोल्नेकला, उद्घोषणकला, माइन्युट लेखन, बैठक व्यवस्थापन आदिबारे उल्लेख गरिएको छ ।