काठमाडौं,२२ कार्तिक ।
युएईमा जारी यु १९ महिला टि ट्वान्टी विश्वकपको एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज कुवेतको सामना गर्दैछ ।

नेपाल र कुवेतबीचको खेल युएईको अजमानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल र कुवेत दुवैको यो दोस्रो खेल हो ।

नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । कुवेत भने पहिलो खेलमा घरेलु टोलीसँग १ सय ६ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

कार्तिक २९ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता रहेको छ ।

कार्तिक २४ गते घरेलु टोलीसॅंग खेल्ने नेपालको चौथो खेल कार्तिक २५ गते थाइल्यान्डसॅंग हुनेछ ।

पाँचौं खेलमा कार्तिक २७ गते कुवेतसॅंग खेल्ने नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसॅंग रहेको छ ।

छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

नेपाली टोली

सोनी पाख्रिन, मनिषा उपाध्याय, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, साबित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी ।