काठमाडौं,१७ कार्तिक ।
नेपालले हङकङ सिक्सेसमा दोस्रो जित हात पारेको छ । शनिबार बिहान सम्पन्न पहिलो खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।

नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा पाँच विकेट गुमाउँदै १०० रन मात्र बनाउन सक्यो । नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए। लोकेश बम र विवेक यादवले एक/एक विकेट हात पारे। अस्ट्रेलियाका ज्याक उडले अविजित रहँदै सर्वाधिक ५५ रन बनाए ।

त्यसअघि मिसन रोड ग्राउन्ड हङकङमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँददै १११ रन बनाएको थियो । नेपालका कप्तान सन्दीप जोराले १६ बलमा ५१ रन बनाए । यस्तै, लोकेशले १३ बलमा ३३ रन जोडे। विवेक १२ रनमा आउट हुँदा राशिद खान १२ रनमा अविजित रहे ।

नेपालले यसअघि इङ्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै एक खेलअगावै क्वार्टरफाइनलमा स्थान बनाइसकेको थियो । क्वाटरफाइनलमा नेपालले आज श्रीलंकासँग खेल्ने छ । यो खेल आज दिउँसो १:३५ बजेदेखि सुरु हुने छ ।