पोखरा,८ कार्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्दोलन अब काठमाडौंकेन्द्रित हुने भएको छ ।
पार्टी सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा पोखरामा प्रदर्शन गर्दै आएको रास्वपाले पोखराको प्रदर्शन रोकेर
अब काठमाडौंकेन्द्रित प्रदर्शन गर्ने तयारी गरेको हो ।
बिहीबार बिहान पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपाले पोखरामा आज हुने प्रदर्शन अन्तिम हुने र त्यसपछि काठमाडौं केन्द्रित प्रदर्शन गर्ने जानकारी गराएको हो ।
रास्वपा उपसभापति स्वर्णिम वाग्लेले लामिछानेमाथि राजनीतिक प्रतिशोध पुष्टि भएको बताए ।
डा. वाग्लेले लामिछानेलाई १२५ घण्टा हिरासतमा राख्दा ४–५ घण्टामात्र बयान लिइएको भन्दै प्रतिशोधले पक्राउ गरेको पुष्टि भएको बताए । उनले भने-‘सरकारले मानमर्दन गर्ने, अपमान गर्ने शैलीमा सरकार प्रस्तुत भएको छ, यसको एउटै मकसद के हो त तेरो सेखी झार्छु, देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भएको छ । राजनीतिक प्रतिशोधले नै पक्राउ गरेको हिजो साँझसम्मको घटनाक्रमले पुष्टि भएको छ । ’
साथै वाग्लेले न्यायलयको गरिमा र आँच पुग्ने कुरामा आफुहरुले कुनै काम नगरेको बताउदै आफुहरुको प्रश्न राजनीतिक भएको र कार्यपालिकाप्रति भएको बताए ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पोखरामा सहकारी पीडितलाई रास्वपाका कार्यकर्ताले धम्की दिएको विषयको खण्डन गरेका छन् ।
उनले कुनै कार्यकर्ताले धम्की दिएको प्रमाण दिन चुनौती समेत दिएका छन्। उनले सहकारी पीडितहरू आफूहरूको आन्दोलनमा सहभागी भएको दाबी गर्दै नक्कली पीडितले प्रदर्शन गरिरहेको समेत दाबी गरे ।
यसैबीच एलामिछानेलाई पोखरामा अनुसन्धानका लागि थप म्याद लिएर बयानका लागि रुपन्देही पठाउने तयारी प्रहरीले गरेको छ । यसअघि गोर्खा मिडियाका पुर्व संचालक छबिलाल जोशीलाई पनि रुपन्देही लगेर बयान लिएर पोखरा ल्याइएको छ ।






