स्याङ्जा,५ कार्तिक ।
स्याङ्जाको चापाकोटमा भएको बम विस्फोट घटनाकाे अनुसन्धानका लागि प्रहरीले घरधनीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चापाकोट नगरपालिका वडा नं. ४ पुरीगाउँका ४५ वर्षीय गोबिन्द पुरी रहेका छन् ।
शनिबार दिउँसो करिब ३ बजे पुरीकै घरमा सकेट बम विस्फोट भएको थियो । बम विस्फोट हुँदा उनी घाइते भएका थिए । उनलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि लुम्विनी मेडिकल कलेज पाल्पा लगिएको थियो ।
अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई नियन्त्रणमा लिइएको डीएसपी पौडेलले बताए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा, सिंह सार्दुल गुल्म स्याङ्जाबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको ।
टोलीले घटनास्थलबाट उच्च विस्फोटक पदार्थ ९ सय ग्राम, डेटकड २ थान, जंगी राउण्ड १ थान र खाली खोका दुई थान बरामद गरेको छ ।
पक्राउ परेका पुरी इलाका प्रहरी कार्यालय चापाकोटको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी हरिप्रसाद पौडेलले जानकारी दिए । घटनाबारे थप अनुसन्धान गर्न पुरीलाई पक्राउ गरिएको डीएसपी पौडेलले बताए ।






