स्याङ्जा,३ कार्तिक ।
स्याङ्जाकाे चापकाेट स्थित एक नेपाली सेनाकाे घरमा सकेट बम बिस्फोट भरको छ ।

घरको सामान ओसारपोसार गर्ने क्रममा सकेट बम पड्किँदा नेपाल सेनाका पूर्व कर्मचारी गोविन्द पुरी घाइते भएका छन् ।

स्याङ्जाको चापाकोट नगरपालिका–४ पुरी गाउँका ४५ वर्षीय पुरीको आँखा, खुट्टा लगायत शरीरको विभिन्न भागमा बमको छर्रा लागेको छ । बमको छर्राबाट घाइते भएका पुरीको लुम्बिनी मेडिकल कलेज प्रभास (पाल्पा)मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी हरिप्रसाद पौडेलले जानकारी दिए ।

डीएसपी पौडेलका अनुसार घटना दिउँसो ३ बजेतिरको हो । पुरी स्वयंले प्रहरीलाई साँझ ५ बजे फोन गरेर जानकारी दिएका थिए । डीएसपी पौडेलका अनुसार पुरीको घर (घटनास्थल) नेपाल प्रहरीले घेराबन्दी गरेर राखेको छ ।

आइतबार बिहान ७ बजे नेपाली सेनाकाे टोलीसहित जिल्लाबाट प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गर्ने उनलेे बताए ।
आज (शनिवार) भएको र ढिला राति भएकोले घटनास्थल चेकजाँच गर्न नसकिएको उनको भनाइ छ ।

पुरानो सामान फाल्नको लागि एउटा तलाबाट अर्को तलामा सार्ने क्रममा सकेट बम पड्किएको प्रहरीले बताएको छ । बम पड्किदा फलामका टुक्रा छरिएका छन् ।

घटनास्थल वरपर छरिएका फलामका टुक्रा, घाइतेको अवस्था, घटनास्थल सवै हेर्दा बिस्फोट भएको बस्तु सकेट बम रहेको प्रहरीको आशंका छ ।

पुरीको परिवारलाई शनिबार राति गाउँमा लगेर राखिएको प्रहरीले जनाएको छ । पूर्वआर्मीको घरमा बम कसरी आयो भन्नेसमेत नखुलिसकेको प्रहरीले बताएको छ । गिरी दुई वर्षअघि अवकाश भएकाे बताइएको छ ।

घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।