काठमाडौं, २२ असोज ।
धवलागिरी हिमाल आरोहणमा गएका पाँचजना आरोहीको मृत्यु भएको छ । आइतबार साँझ ११ बजेदेखि करिब ८ हजार मिटर उचाइबाट सम्पर्कविहीन आरोहीहरु मृत फेला परेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए ।
आरोहणका क्रममा ८ हजार मिटर हाराहारीमा पुगेपछि थप अगाडि बढ्न नसक्ने निष्कर्षसहित आइतबार तल्लो शिविरमा फर्कने निर्णय लिएका आरोहीहरुको मृत्यु भएको निर्देशक गुरुङले बताए । उनीहरुले आधार शिविरमा रहेका आफ्ना साथीलाई आफूहरु फर्कने निर्णयमा पुगेको जानकारी गराएकाे तर, रातको ११ बजेपछि उनीहरुसँगको सम्पर्क टुटेको थियो ।
सोमबार दिनभर गरिएको खोजी अभियानपछि मंगलबार बिहान मात्र उनीहरूलाई मृत अवस्थामा फेला पारिएको हो ।
उनीहरु रसियाका चर्चित र अनुभवी आरोही रहेको गुरुङले बताए ।
यस वर्ष कुल १४ जना आरोही धवलागिरी हिमाल आरोहणका लागि गएका थिए । त्यसमध्ये दुई समूहमा ७-७ जना आरोही आरोहणमा लागेका थिए । त्यसमध्ये ६ जनाले आरोहण गर्न नसकिने भनी परित्याग गरेको जानकारी विभागमा गराइएको थियो । बाँकी ८ जनामध्ये दुई जनाले सफल आरोहण गरी आधार शिविरमा फर्किएका थिए ।
बाँकी ६ जना आरोहणमा जाँदै गर्दा थप एक जनाले बीच बाटोबाटै आरोहण परित्याग गरेर आधार शिविरमा फर्किएका थिए । आरोहणको अठोट बोकेर अघि बढेका आरोहीहरुको निधन भएको हो ।
प्रतिकुल मौसमका कारण उनीहरुलाई आधार शिविरमा झार्न नसकिएको विभागले जनाएको छ । आइएएम ट्रेकिङबाट यस सिजनका लागि १४ जना रसियन आरोहीले अनुमति लिएका थिए ।






